काठमाडौँ । नेपाल प्रहरी साइबर ब्युरोले अनधिकृत र अविश्वसनीय भीपीएन प्रयोगबाट बैंकिङ सुरक्षा उच्च जोखिममा पर्ने चेतावनी दिएको छ।
ब्युरोका अनुसार जथाभावी भीपीएन प्रयोग गर्दा व्यक्तिगत विवरण चुहावट हुने मात्र होइन, मोबाइल बैंकिङ एप ह्याक भई प्रत्यक्ष आर्थिक क्षति हुने सम्भावना छ। साथै, यस्ता भीपीएनमार्फत मालवेयर वा भाइरस प्रवेश गरी प्रयोगकर्ताको वित्तीय डाटा चोरी हुने खतरा बढ्ने बताइएको छ।
सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने तयारीसँगै भीपीएन प्रयोग बढ्न सक्ने अनुमान गर्दै ब्युरोले प्रयोगकर्तालाई सुरक्षित र भरपर्दो सेवा मात्र प्रयोग गर्न आग्रह गरेको छ।
साइबर ब्युरोले प्रकाशित सूचना अनुसार “भीपीएन सेवा कति सुरक्षित हुन्छ भन्ने कुरा त्यसको प्रदायक कति विश्वसनीय छ भन्नेमा भर पर्छ।” अविश्वसनीय सेवा प्रयोग गर्दा बैंक खातामा अनधिकृत पहुँच पाउने, पासवर्ड चुहिने र सम्पत्ति चोरी हुने सम्भावना उच्च हुने उल्लेख गरिएको छ।
विशेषगरी अनलाइन बैंकिङ, मोबाइल वालेट तथा पेमेन्ट एप प्रयोग गर्ने ग्राहकलाई पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।