एटीएम स्किमिङको डरलाग्दो जालो र सुरक्षित रहने अचुक उपाय !


  • ADBL
  • City Express
एटीएम स्किमिङको डरलाग्दो जालो र सुरक्षित रहने अचुक उपाय !

काठमाडौँ । तपाईं ढुक्कले एटीएम मेसिनमा कार्ड हाल्नुहुन्छ, पिन थिच्नुहुन्छ र पैसा निकाल्नुहुन्छ। तर, के तपाईंलाई थाहा छ, यति साधारण लागेको यो प्रक्रियामा तपाईंको पूरै बचतमाथि अदृश्य चोरहरूको गिद्धे नजर परिरहेको हुन सक्छ?

नेपालमा एटिएम प्रयोगको तथ्यांक मात्र हेरे पनि यस जोखिमको गम्भीरता बुझ्न सकिन्छ। हाल नेपालमा बैंक तथा वित्तीय संस्थाहरूका एटिएम मेसिनको संख्या मसार २०८२ सम्म पुग्दा ५,२६३ पुगेका छन्। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार, गत असार महिनामा मात्र १ कराेड १० लाख ७८ हजार ८६१ पटकको प्रयोगमार्फत करिब ९३ अर्ब ११ करोड १० लाख रुपैयाँको कारोबार भएको देखिएको छ। यस्तो ठूलो संख्यामा हुने कारोबारलाई लक्ष्य गरेर अपराधीहरूले स्किमिङजस्ता प्रविधि प्रयोग गर्ने सम्भावना उच्च हुने स्वाभाविक कुरा हो।

एटीएम र नेपाल राष्ट्र बैंक तथ्यांक — 2082 असार

एटीएम स्किमिङ, वित्तीय ठगीको यस्तो मौन हमला हो, जसले तपाईंलाई थाहै नदिई बैंक खाता रित्याइदिन सक्छ। कल्पना गर्नुहोस्, तपाईंको पैसा एकाएक गायब भयो, बैंक खाता खाली भयो। तर कसरी? कसले लियो? यही प्रश्नको पछाडि लुकेको छ स्किमिङको रहस्यमय जालो।

अपराधीहरूले एटीएम मेसिनमा सानो, पत्ता लगाउन गाह्रो हुने उपकरणहरू जडान गर्छन्। एउटा उपकरणले तपाईंको एटीएम कार्डको सम्पूर्ण विवरण चोर्न सक्दछन्, अर्को गोप्य मिनी-क्यामेराले तपाईंले थिचेको गोप्य पिन नम्बर रेकर्ड गर्छ। यसरी तपाईंको कार्डको नक्कल बनाएर वा अनलाइन कारोबारमार्फत, उनीहरूले तपाईंको मेहनतको सम्पूर्ण कमाइ कुनै पनि दिन, कुनै पर्खाइ बिनै, तुरुन्तै हिनामिना गर्न सक्छन्।

यो समस्या नेपालका लागि पनि नौलो होइन; विगतमा हाम्रै शहरका एटीएम बुथहरूमा पनि यस्ता स्किमिङ डिभाइसहरू फेला परेका छन्, जसले धेरै इमानदार ग्राहकहरूको निन्द्रा हराम गरिदिएको थियो। अष्ट्रेलियामा हालै घटेको एउटा घटनाले यसको विश्वव्यापी आयामलाई प्रष्ट पारेको छ, जहाँ स्किमिङमा संलग्न दुई रोमानियाली नागरिकलाई पक्राउ गरी ४ वर्षसम्मको जेल सजाय तोकिएको छ। उनीहरूबाट लाखौं डलर नगद, थुप्रै नक्कली सिमकार्ड र स्किमिङका उपकरणहरू बरामद गरियो, जसले यी अपराधीहरूको संगठन कति विशाल र चलाख छ भन्ने देखाउँछ।

अब प्रश्न उठ्छ: तपाईं कसरी सुरक्षित रहने ? यो युद्धमा, तपाईंको सतर्कता नै सबैभन्दा शक्तिशाली हतियार हो। फाइनान्सियल नोटिसेस तपाईंको वित्तीय सुरक्षाका लागि केही अचुक उपायहरू सुझाउँछ: एटीएम मेसिनमा कार्ड घुसाउनुअघि कार्ड स्लट, पिन प्याड र त्यस वरपरको क्षेत्रलाई ध्यानपूर्वक जाँच गर्नुहोस्, केही खुकुलो, अनौठो वा असामान्यता देखिएको छ कि ? पिन नम्बर हाल्ने बेलामा सधैं आफ्नो अर्को हातले पिन प्याडलाई राम्ररी छोप्नुहोस् । यसले माथिपट्टि लुकाइएको कुनै पनि गोप्य क्यामेरालाई तपाईंको पिन नम्बर रेकर्ड गर्नबाट शतप्रतिशत रोक्छ।

यदि कुनै एटीएम मेसिनमा शंका लागेमा, त्यसलाई प्रयोग नगर्नुहोस् र तत्काल आफ्नो बैंक वा नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्। साथै, आफ्नो बैंक खाताको कारोबार विवरण (स्टेटमेन्ट) लाई नियमित रूपमा जाँच गर्ने बानी बसाल्नुहोस् र कुनै पनि शंकास्पद वा अपरिचित कारोबार देखिएमा ढिला नगरी बैंकलाई जानकारी गराउनुहोस्। सकेसम्म बैंकभित्र रहेका वा अन्य सुरक्षित र निगरानीमा रहेका एटीएम बुथहरू प्रयोग गर्नुहोस्।

याद राख्नुहोस्, तपाईंको वित्तीय सुरक्षा तपाईंको हातमा छ। यी सरल तरिका अपनाएर तपाईं स्किमिङको जालोबाट जोगिन सक्नुहुन्छ र तपाईंको मिहेनतको कमाईलाई सुरक्षित राख्न सक्नुहुन्छ। यो महत्वपूर्ण जानकारी आफ्ना साथीभाइ र परिवारजनलाई पनि शेयर गरेर उनीहरूलाई पनि सुरक्षित राख्न मद्दत गर्नुहोस् ।