साम्बा पुनः कृषि विकास बैंककाे ब्रान्ड एम्बासडर, वाणिज्य बैंकमध्ये पहिलो बन्ने लक्ष्यमा बैंक


  • KBL News Ad
  • Prabhu Bank
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
साम्बा पुनः कृषि विकास बैंककाे ब्रान्ड एम्बासडर, वाणिज्य बैंकमध्ये पहिलो बन्ने लक्ष्यमा बैंक

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई कृषि विकास बैंकले दोस्रो पटक ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ।

गत वर्षदेखि साम्बा बैंकको ब्राण्ड एम्बेसडरको रूपमा आवद्ध थिइन्। बैंकले शुक्रबार रोयल टुलिप काठमाडौँमा आयोजित "ब्राण्ड एम्बासडर सम्झौता कार्यक्रम" आगामी एक वर्षका लागि सम्झौता नविकरण गरेको हो। सम्झौता रकम आपसी समझदारीमा तय गरिएको बैंकले जनाएको छ। सम्झौतापत्रमा बैंकका उपमहाप्रबन्धक सुदीप कुमार दाहाल र साम्बाले हस्ताक्षर गरेका छन्।

साम्बाले बैंकसँगको सहकार्य आफ्नो जीवनसँग भावनात्मक रूपमा जोडिएको बताइन्। “मेरो लागि पहिलो ब्राण्ड एम्बेसडरको प्रस्ताव कृषि विकास बैंकले गरेको थियो। बैंकले पहिलोपटक एम्बेसडर नियुक्त गर्दा निकै खुसी लागेको थियो। बैंकले दिएको विश्वासप्रति सदा आभारी छु,” साम्बाले भनिन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) गोविन्द गुरुङले साम्बालाई केवल खेलाडी नभई मेहनत र समर्पणको प्रतीक भएको बताए। उनले भने, “साम्बासँगको सहकार्य बैंकको ब्राण्ड इमेज र प्रतिष्ठा मजबुत पार्नेछ। वहाँले खेलकै माध्यमबाट बैंकको सकारात्मक छवि फैलाउनुहुन्छ।”

CEO गुरुङले थप जानकारी दिँदै भने, “नेपालको इतिहासमा कालजही छाप राख्न सफल फुटबल व्यक्तित्व सावित्रा भण्डारी ‘साम्बा’सँग ब्राण्ड एम्बेसडर सम्झौता गर्न पाउँदा अत्यन्त खुशी छौँ। हामीले नेपालमा सञ्चालित २० वाणिज्य बैंकमध्य नम्बर १ बन्ने लक्ष्य तय गरेका छौँ। त्यसका लागि लगनशील, अनुशासित र निरन्तर काममा खटियो भने त्यो दिन टाढा छैन। यदि हामीले साम्बाले जस्तै लगन, अनुशासन र परिश्रम गर्यौँ भने कृषि विकास बैंक नम्बर १ बन्न सक्छ।”

आजको दिनमा नाफाको हिसाबले बैंक छैटौँ स्थानमा, प्रतिशेयर आम्दानीको हिसाबले तेस्रो स्थानमा र प्रतिशेयर वितरणयोग्य नाफाको हिसाबले चौथो स्थानमा छ। गुरुङले भने, “हामीभन्दा दुई गुणा बढी कर्जा वा निक्षेप भएका बैंकहरुको नाफा, वितरणयोग्य नाफा र प्रतिशेयर आम्दानी हाम्रो भन्दा कम छ। यसले देखाउँछ कि बैंक प्रगतिको पथमा छ र अलिकति मेहनत गरे मात्र नम्बर १ बन्न धेरै टाढा छैन।”

CEO गुरुङले भने, “हामी कृषि विकास बैंकलाई नेपालमा मात्र हैन, अन्तर्राष्ट्रिय स्तरमा पनि ख्याती बढाउन चाहन्छौँ। हाम्रा सरोकारवालाहरु, रेमिट्यान्स पठाउनेहरू, एनआरएन डायसपोरासम्म बैंकको नाम उँचो गराउनका लागि र नेपालका हरेक तह र तप्काका मानिसहरुसम्म बैंकको सेवा पुर्‍याउन साम्बालाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेका छौँ। बैंकको सेवा सुविधा देश–विदेशका सम्भावित ग्राहकहरुसम्म पुग्नेछ।”

  • EBL Ad news