काठमाडौँ — कम्पनीहरूको संस्थापक र सर्वसाधारण सेयर छुट्याउने विषयको विवाद सम्बन्धमा अर्थ मन्त्रालयले चासो देखाएको छ । यससम्बन्धी विवाद समाधानका लागि मन्त्रालयले बोर्डलाई निर्देशनसमेत दिएको छ ।
संस्थापक र सर्वसाधारण सेयरको छुट्टाछुट्टै इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइजिन) बनाउने विषयबारे विवाद चर्किंदै गएको र निजी क्षेत्रका छाता संगठनहरूबाट विरोध आउन थालेपछि उपप्रधान र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ सचिव र राजस्व सचिवलाई यस विषयमा सत्यतथ्य बुझ्न निर्देशन दिएका थिए । सोही निर्देशनका आधारमा सोमबार अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ, नेप्सेको प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईं र सीडीएस एन्ड क्लियरिङकी प्रबन्ध सञ्चालक प्रविन पन्दाकलाई छलफलका लागि बोलाएको थियो ।







