काठमाडौं । जलविद्युत् कम्पनीहरूलाई आईपीओदेखि हकप्रद र सेयर बिक्रीमा कडाइ गर्ने तयारीमा नेपाल धितोपत्र बोर्ड (सेबोन) लागिपरेको छ । बोर्डले सार्वजनिक गरेको नयाँ नीतिले उत्पादन सुरु गरेपछि मात्रै आईपीओ जारी गर्न पाउनेगरी जलविद्युत् कम्पनीलाई पुँजीबजारमा कस्न लागेको हो ।
यस्तो आयो सर्त
– उत्पादनको प्रमाण अनिवार्य
– बोर्डको पुनर्संरचना, विज्ञ सदस्य थप
– मार्जिन कर्जाको व्यवस्था
– ऋणको सट्टा ऋणपत्र
बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा विद्युत् उत्पादन गरेपछि मात्रै आईपीओ जारी गर्न पाउने व्यवस्था गरिने उल्लेख छ । हालसम्म अधिकांश जलविद्युत् कम्पनीले आयोजना निर्माणकै क्रममा सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दै आएका थिए । तर, आयोजना निर्माण ढिलो हुने, लागत बढ्ने, समयमा विद्युत् उत्पादन नहुनेजस्ता समस्याले सर्वसाधारण लगानीकर्तालाई ठूलो जोखिममा पार्ने अवस्था देखिएको निष्कर्ष निकाल्दै सेबोनले नयाँ नीति सार्वजनिक गर्दै आईपीओमा कडाइ गर्न लागेको हो ।








