नेपाल स्टक एक्सचेन्जले वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स वितरणको सिफारिस गर्न १५ दिनको समय दिदै आवेदन माग गरेको छ।
नेप्सेले वाणिज्य बैंकको सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि सिफारिस कार्यविधि २०७६ लागू भएको जनाउँदै साउन १७ गते वाणिज्य बैंकका सहायक कम्पनीहरुबाट आवेदन माग गरेको हो ।
कार्यविधिमा वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्सको सिफारिस गर्न मुख्य चार वटा मापदण्ड तोकिएको छ। त्यसमा वाणिज्य बेंकको शतप्रतिशत लगानी भएको सहायक कम्पनी हुनुपर्ने, न्युनतम दुई करोड चुक्ता पूँजी भएको हुनुपर्ने, राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको हुनुपर्ने र कर चुक्ता प्रमाण पत्र प्राप्त गरेको हुनुपर्ने गरी तोकिएको छ।
नेप्सेले यसअघि प्रस्ताव गरेको कार्यविधि प्रचलित कानून विपरित देखिएको भन्दै धितोपत्र बोर्डले खारेज गरेको थियो ।
नेप्सेले सार्वजनिक गरेको नयाँ कार्यविधिमा भरखरै स्थापना भएका सहायक कम्पनीले पनि कर चुक्ता प्रमाण पत्र पेश गर्नुपर्ने आशय हो भने त्यसले कम्तिमा तीन महिनासम्मको ढिलाई गर्नसक्ने संभावना देखिएको छ । गत वर्षको असार मसान्त अघि स्थापना भएका बाणिज्य बैंकका सहायक कम्पनीले लेखापरीक्षण गराई कर कार्यालयबाट कर चुक्ता प्रमाण पत्र लिने तीन महिना लाग्नेछ भने यसै आर्थिक वर्षमा स्थापना भएका कम्पनीले पनि करचुक्ता लिनुपर्छ भन्नु उपयुक्त हुँदैन।
....







