अब ‘चेक अनादर’ केवल गल्ती होइन, गम्भीर बैंकिङ अपराध हो!
काठमाडाैँ । यदि तपाईंको खातामा पर्याप्त मौज्दात रकम छैन भने कसैलाई चेक काट्नु अत्यन्तै जोखिमपूर्ण र कानुनी रूपमा दण्डनीय कार्य हो। नेपालमा पछिल्लो समय चेक अनादरसम्बन्धी घटनाहरू बढ्दै गएका छन्, जसलाई रोक्न नियामक निकायहरूद्वारा कडा कानुनी चेतावनी जारी गरिएको छ। खातामा रकम नभएको अवस्थामा चेक काट्ने कार्य अब सामान्य त्रुटि मात्र नभई बैंकिङ कसुर अन्तर्गत पर्छ, जसले गर्दा सम्बन्धित व्यक्तिलाई जरिवाना, ब्याजसहितको भुक्तानी र कानुनी सजाय समेत भोग्नु पर्ने हुन सक्छ।
यदि कसैले रकम नभएको अवस्थामा चेक जारी गर्छ र सो चेक भुक्तानीका लागि प्रस्तुत गरिँदा खातामा रकम नपुगेमा चेक अनादर मानिन्छ। यस्तो अवस्थामा बैंकले खातावालालाई ७ दिनको समय दिई रकम जम्मा गर्न सूचित गर्छ। तर यदि त्यो समयमा पनि खातामा रकम नजम्मा भएमा चेक फिर्ता गरिन्छ र चेकधारकलाई अनादरको जानकारी दिइन्छ। चेकधारकले त्यसपछि कानुनी अधिकार प्रयोग गर्दै रकम फिर्ता तथा ब्याजसहित दाबी गर्न सक्छ। बैंकले पनि उक्त घटनाको विवरण तीन दिनभित्र सम्बन्धित पक्षलाई जानकारी गराउनुपर्छ।
सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, यस्ता चेक जारी गर्ने व्यक्तिलाई बिना भुक्तानी रकम, सो रकममा कानुनी ब्याज, साथै ५ प्रतिशतसम्मको जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था छ। त्यसै गरी, सम्बन्धित व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर हुन सक्छ, जसको परिणाम जेल सजायको रूपमा पनि देखा पर्न सक्छ। चेक अनादरसम्बन्धी मुद्दाहरू आर्थिक कारोबारमा विश्वास गुमाउने खतरा बोकेका हुन्छन्, जसले वित्तीय प्रणालीमै प्रभाव पार्न सक्छ।
त्यसैले, सबै खातावालाहरूलाई आग्रह गरिन्छ कि चेक काट्नु पूर्व आफ्नो खातामा पर्याप्त मौज्दात रकम छ कि छैन भन्ने कुरा अनिवार्यरूपमा सुनिश्चित गर्नुपर्छ। व्यवसायिक अनुशासन र आर्थिक जवाफदेहिताको लागि सजगता अत्यावश्यक छ। चेक काट्दा सावधानी अपनाउनु नै सजायबाट बच्ने उत्तम उपाय हो।