काठमाडौं - कृषि विकास बैंक लिमिटेडले प्रकाशित गर्दै आएको दीर्घकालीन साहित्यिक प्रकाशन समष्टि को ११९ औं अङ्क औपचारिक रूपमा विमोचन गरिएको छ। २१२ औं भानुजयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले पत्रिका सार्वजनिक गरेका हुन्।
विमोचन कार्यक्रममा सीईओ गुरुङले बैंकले साहित्य र सर्जनात्मकतामा गरेको योगदानलाई स्मरण गर्दै, “समष्टि बैंकको सामाजिक उत्तरदायित्वको निरन्तर अभिव्यक्ति हो, जसले नेपाली साहित्यिक क्षेत्रलाई बलियो आधार प्रदान गर्दै आएको छ,” भन्नुभयो।
समष्टि प्रकाशन समितिका अध्यक्ष तथा बैंकका उपमहाप्रबन्धक प्रताप सुबेदीले कार्यक्रमको क्रममा समष्टिको सुरुवातदेखि अहिलेसम्मको यात्रा सम्झिँदै यसलाई सर्जक र पाठकबीचको सिर्जनात्मक सेतुको रूपमा चित्रण गर्नुभयो।
उक्त कार्यक्रममा बैंकका अन्य उपमहाप्रबन्धक, विभागीय प्रमुख तथा कर्मचारीको उपस्थिति रहेको थियो।
करिब पाँच दशकदेखि प्रकाशित हुँदै आएको समष्टि पत्रिका कृषि विकास बैंकको संस्थागत पहिचानसँगै नेपाली साहित्यमा निरन्तर योगदान पुर्याउँदै आएको छ। यो प्रकाशन बैंकको आर्थिक क्षेत्रसँगै सांस्कृतिक क्षेत्रमा समेत सक्रियताको उदाहरण मानिन्छ।








