काठमाडौं, असार २९ – विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (IPO) आइतबार प्रभु क्यापिटलमार्फत बाँडफाँट गरिएको छ। कुल २९ लाख ४२ हजार ७६० कित्ता सेयरका लागि २० लाख ४३ हजार ६८६ आवेदकले आवेदन दिएका थिए। तीमध्ये लक्की ड्र प्रणालीमार्फत २ लाख ९४ हजार २७६ जनालाई मात्र १० कित्ताका दरले सेयर प्राप्त भएको हो।
यस बाँडफाँटसँगै बाँकी १७ लाख ४९ हजार ४१० आवेदकले सेयर प्राप्त गर्न सकेनन्। माग अत्यधिक उच्च भएकाले अधिकांशको आवेदन असफल भएको हो। बाँडफाँटको परिणाम IPO Result मा क्लीक गरी हेर्न सकिनेछ।
विकास हाइड्रोपावरले गोरखा जिल्लाको धार्चेमा ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। परियोजनाको कुल लागत १ अर्ब ११ करोड ८२ लाख रुपैयाँ पुगेको छ, जसअनुसार प्रति मेगावाट लागत २४ करोड ५७ लाख ६८ हजार रुपैयाँ परेको छ।
वित्तीय सूचकांकअनुसार, गत पुस मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी (EPS) ५ रुपैयाँ ३७ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १०२ रुपैयाँ ७६ पैसा छ। कम्पनीको सञ्चित नाफा १ करोड २८ लाख रुपैयाँ रहेको छ।








