नेपालको वित्तीय परिदृश्यमा डिजिटल भुक्तानीले ऐतिहासिक फड्को मारेको छ । जसमा QR कोडमा आधारित भुक्तानी प्रणाली सबैभन्दा अगाडि देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार, पछिल्लो एक वर्षमा QR मार्फत हुने कारोबारको संख्या र रकम दुवैमा उल्लेख्य मात्रा वृद्धि भएको छ ।
२०८० असारमा करिब ९७ लाख पटक भएको QR कारोबार २०८२ बैशाखसम्म आइपुग्दा ३ करोड ३७ लाखभन्दा बढी पुगेको छ । रकमको हिसाबले हेर्दा ३० अर्बबाट बढेर ९६ अर्ब रुपैयाँ नाघ्नु ले नेपाली उपभोक्ता र व्यवसायी नगदरहित कारोबारतर्फ कति तीव्र गतिमा अभ्यस्त भइरहेका छन् भन्ने अझ प्रस्ट देखिन्छ । रोचक कुरा त के छ भने अब प्रयोगकर्ताहरूले सानातिना खरिदमा मात्र नभई ठूला र महत्वपूर्ण भुक्तानीका लागि पनि QR कोडमाथि विश्वास गर्न थालेका छन् ।
यो उत्साहजनक वृद्धि हुनुको अर्को पाटो पनि छ । यही तीव्र गतिको दौडमा कतै वित्तीय अनुशासन र सही अभ्यासहरू छुटिरहेका त छैनन् ? यही महत्वपूर्ण तर प्रायः ओझेलमा पर्ने विषयलाई सिद्धार्थ बैंकले आफ्नो नयाँ सचेतनामूलक विज्ञापनमार्फत सटिक ढंगले सम्बोधन गरेको छ । जसले यो अभियानलाई मात्रात्मक वृद्धिबाट गुणात्मक परिपक्वतातर्फ लैजान आवश्यक रहेको संकेत गरेको बुझिन्छ ।
विज्ञापनको केन्द्रविन्दु यसको सरल तर सशक्त कथावस्तुमा आधारित छ । जहाँ एक सचेत महिला ग्राहकले डिजिटल भुक्तानीको सही अभ्यासलाई व्यवहारमा उतार्छिन् । पसलेले भुक्तानीका लागि दिएको व्यक्तिगत QR कोडमा पैसा पठाउन अस्वीकार गर्दै व्यावसायिक QR कोड माग्नुले आम नागरिकमा बढ्दो डिजिटल सचेतनाको प्रतिनिधित्व गर्छ । उनको यस कदमले व्यावसायिक र व्यक्तिगत खाताबिचको भिन्नतालाई प्रस्ट्याउने मात्र नभई, व्यक्तिगत खातामा व्यावसायिक कारोबार गर्नु नियमविपरीत र जोखिमपूर्ण हुन सक्छ भन्ने बलियो सन्देश प्रवाह गर्दछ । महिला पात्रलाई आर्थिक ज्ञान, प्रविधिमा पहुँच र व्यावहारिक साक्षरतामा सक्षम, आत्मनिर्भर पात्रको रूपमा चित्रण गरिनुले वित्तीय समावेशीकरण र महिला सशक्तीकरणको सन्देशलाई एकसाथ प्रवद्र्धन गरेको छ ।
यस विज्ञापनको सुन्दरता यसको वित्तीय सन्देशमा मात्र सीमित छैन, यसले सूक्ष्म सामाजिक चेतना र लैङ्गिक समावेशितालाई समेत समेटेको छ । महिला पात्रलाई डिजिटल प्रविधिमा दक्ष र पुरुष पात्रलाई कृषिमा आधारित उद्यम (किराना पसल) मा संलग्न देखाएर विज्ञापनले समाजमा परिवर्तन हुँदै गएको लैङ्गिक भूमिकाको सन्तुलित र प्रगतिशील चित्रण गरेको छ । यसले महिला र पुरुष दुवैको समान सहभागिताले मात्रै समाज अघि बढ्छ भन्ने सकारात्मक सन्देश दिन्छ ।
विज्ञापनको अन्त्यमा बैंकको प्रतिनिधि पात्रमार्फत प्रस्तुत “पारदर्शी कारोबार, व्यवसायमा बनौं जिम्मेवार” भन्ने नाराले सम्पूर्ण विज्ञापनको सारलाई समेट्छ । यो केवल एक नारा मात्र नभई बैंकको प्रेरणादायी र सचेतनामूलक भूमिकाको प्रत्यक्ष उद्घोष हो । आन्तरिक राजस्व विभागको सूचनालाई पृष्ठभूमिमा देखाएर बैंकले यो विषयलाई व्यक्तिगत छनोटभन्दा माथि उठाएर कानुनी दायित्वको तहमा पुयाएको छ । यसले बैंकलाई केवल नाफामुखी संस्थाको रूपमा नभई एक जिम्मेवार वित्तीय सहजकर्ताको रूपमा स्थापित गर्दछ, जसले ग्राहकमा आर्थिक अनुशासन र पारदर्शिता प्रवद्र्धन गर्दै विश्वासको सम्बन्ध निर्माण गर्न खोजेको देखिन्छ ।
समग्रमा, सिद्धार्थ बैंकको यो विज्ञापन QR भुक्तानीको बढ्दो आँकडाको पृष्ठभूमिमा अझ बढी सान्दर्भिक र आवश्यक देखिन्छ । जब लाखौं मानिस र अर्बौ रुपैयाँ डिजिटल प्रणालीमा प्रवेश गरिरहेका छन्, तब सही अभ्यासको प्रवद्र्धन गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ । यो प्रयासले नेपाललाई केवल “नगदरहित” मात्र नभई, एक “पारदर्शी र जिम्मेवार” डिजिटल अर्थतन्त्रतर्फ डोर्याउन महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ ।