काठमाडाैँ – ललितपुरकी ३५ वर्षीया सरिता अधिकारीको बिहानको सुरुवात पनि धेरै नेपालीको झैँ मोबाइल चलाएर हुन्छ । फेसबुक खोल्नेबित्तिकै देश–विदेशका समाचार, साथीभाइ र आफन्तका गतिविधि, आवश्यक सूचना र जानकारीमा उनको नजर दौडिन्छ ।
केही दिनअघि फेसबुकमा देखिएको एउटा पोस्ट नहेरेको भए आफ्नो बैंक खाता सञ्चालनमा नै रोक आउन सक्ने कुरा उनले बुझ्ने थिइनन् ।
फेसबुक हेर्दा सरिताको ध्यान एउटा बैंकले पोष्ट गरेको (Know Your Customer) KYC अद्यावधिक सम्बन्धी सूचनामा पुगेको थियो । पोष्टमा स्पष्ट चेतावनी थियो - “यदि तोकिएको मितिभित्र ग्राहकले आफ्नो ठेगाना वा सम्पर्क नम्बर अद्यावधिक गरेनन् भने बैंक खाता सञ्चालनमा रोक लाग्न सक्ने छ ।”
त्यो सूचना पढेपछि सरिताले ढिला नगरी अनलाइनबाटै आफ्नो विवरण अद्यावधिक गरिन् ।
यदि म फेसबुक हेर्दिनथेँ भने यस्तो महत्त्वपूर्ण सूचना छुट्न सक्थ्यो” उनले भनिन्, “बैंक खाता बन्द हुन सक्ने झन्झटमा पनि फस्न सक्थेँ ।
सरिताजस्तै आज कयौँ ग्राहकका लागि बैंकको शाखाभन्दा पहिले त्यसको डिजिटल अनुहार अर्थात् सामाजिक सञ्जालको पेज, बढी महत्त्वपूर्ण बनेको छ । नयाँ सेवा, छुटका अफर र जरुरी सूचनाहरु लिन फेसबुकजस्ता सामाजिक सञ्जाल सबैभन्दा छिटो र सजिलो माध्यम बनेका छन् । यसले बैंकहरूलाई ग्राहकसँग सोझै जोडिने र ब्रान्ड पहिचान बनाउन सहयोग गर्ने गरेको छ ।
के सबै बैंक यो डिजिटल दौडमा उत्तिकै सक्रिय छन् त ? हामीले २०८२ असार पहिलो साताको तथ्याङ्कमा आधारित रहेर सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको फेसबुक उपस्थिति विश्लेषण गरेका छौँ । जसले कुन बैंक अगाडि र कुन पछि छ भन्ने स्पष्ट चित्र देखाउँछ ।
को अगाडि, को पछाडि ?
तथ्याङ्कअनुसार, नबिल बैंक १३ लाखभन्दा बढी फलोअर्ससहित फेसबुकमा सबैभन्दा लोकप्रिय छ । त्यसपछि एनआईसी एशिया बैंक १२ लाख फलोअर्ससहित दोस्रो स्थानमा छ । यी दुई बैंक अन्य प्रतिस्पर्धीभन्दा निकै अगाडि छन् ।
तेस्रो स्थानमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४ लाख ४० हजार फलोअर्स छन् । यी शीर्ष बैंकहरूले नियमित रूपमा आकर्षक भिडियो, जानकारीमूलक इन्फोग्राफिक्स र ग्राहकसँग संवाद गर्ने सामग्रीमार्फत आफ्नो डिजिटल उपस्थिति बलियो बनाएका छन् ।
सरकारी बैंकहरूबीच डिजिटल सक्रियताको आधारमा नेपाल बैंक सामाजिक सञ्जालमा सबैभन्दा अगाडि देखिएको छ। यस बैंकको फेसबुकमा तीन लाख ७७ हजार फलोअर्स छन्, जबकि राष्ट्रिय वाणिज्य बैंकको फलोअर्स संख्या एक लाख ४२ हजारमा सीमित छ। कृषि विकास बैंकको सामाजिक पहुँच भने अझै कमजोर देखिन्छ, यसको फलोअर्स संख्या जम्मा ३४ हजार मात्र रहेको छ।
यता निजि बैंकहरूमा नेपाल एसबीआई बैंक र प्राइम कमर्सियल बैंकको फलोअर्स सङ्ख्या ४० हजारभन्दा कम छ। यसले केही बैंकहरू अझै पनि परम्परागत शैलीमै सीमित छन् वा डिजिटल माध्यममा समयसापेक्ष सक्रिय हुन सकेका छैनन् कि भन्ने प्रश्न उठाउँछ ।
सामाजिक सञ्जालमा बैंकको उपस्थिति अहिले केवल ब्रान्ड देखाउने माध्यम होइन, आवश्यक सूचना पाउने मुख्य स्रोत समेत बनेको छ । नयाँ योजना होस् या खाता रोक्का हुने सूचना, यी सबै अपडेटहरू फेसबुकजस्ता प्लेटफर्मबाट छिटो ग्राहकसम्म पुग्न थालेका छन् ।
तपाईंको खाता भएको बैंक कत्तिको डिजिटल छ ? जान्नुहोस् २० वाणिज्य बैंकको फेसबुक रिपोर्ट कार्ड ।
बैंकको नाम |
फलोअर्स |
---|---|
नबिल बैंक |
१३ लाख |
एनआसी एशिया बैंक |
१२ लाख |
स्ट्यान्डर्ड चार्टर्ड बैंक |
४ लाख ४० हजार |
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक |
४ लाख ३४ हजार |
ग्लोबल आइएमई बैंक |
४ लाख ३२ हजार |
सिद्धार्थ बैंक |
४ लाख २३ हजार |
नेपाल बैंक |
३ लाख ७७ हजार |
एभरेष्ट बैंक |
२ लाख ८८ हजार |
एनएमबी बैंक |
२ लाख ८७ हजार |
सिटिजन्स बैंक |
२ लाख |
प्रभु बैंक |
१ लाख ९४ हजार |
सानिमा बैंक |
१ लाख ९१ हजार |
माछापुच्छ्रे बैंक |
१ लाख ५६ हजार |
राष्ट्रय वाणिज्य बैंक |
१ लाख ४२ हजार |
लक्ष्मी सन्राइज बैंक |
१ लाख २२ हजार |
कुमारी बैंक |
१ लाख २० हजार |
हिमालयन बैंक |
६५ हजार |
नेपाल एसबीआई बैंक |
३६ हजार |
कृषि विकास बैंक |
३४ हजार |
प्राइम बैंक |
३० हजार |