नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा मार्फत लगानीकर्ताले वर्षैदेखि उठाउदै आएको माग पुरा गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झारेको हो ।
शेयर बजार तथा घरजग्गाको लगानी अनुत्पादक हुने भएकाले जोखिम उच्च हुने भन्दै केन्द्रीय बैंकले जोखिम भार बढाएको थियो । राष्ट्र बैंकको उक्त कदमले शेयर बजार नराम्रोसँग थलिएको थियो । शेयर बजारमा बैंकले मौद्रिक नीति तथा निर्देशन मार्फत लिदै आएको नीतिगत कडाईको चपेटामा परेको थियो । नेपाल राष्ट्र बैंकमा नवनियुक्त गभर्नर आएसँगै नीतिगत कडाईलाई खुकुलो बनाउन सुरु गरेको देखिन्छ । केन्द्रीय बैंकको यो कदमलाई शेयर बजारका लगानीकर्ताले खुलेर स्वागत गरेका छन ।
नेपाल राष्ट्र बैंकका गभर्नरले सुरुवाती अवस्थामानै पूँजी बजार प्रति उदार भएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । शेयर बजारको लगानीकर्ताको चर्याएको घाउमा मलम लगाएर रक्षा गरेका छन् । बैंकले मौद्रिक नीति तथा निर्देशन मार्फत शेयर बजारलाई प्रहार गर्दै आएको थियो । विस्तारै आंसिक रुपमा सुधार गरिएको भएतापनि बजारका लगानीकर्तामा विश्वास जगाउन सकेको थिएन ।
केन्द्रीय बैंकमा नवनियुक्त गभर्नर आएसँगै लगानीकर्ताको माग सम्बोधन हुन सुरु भएको छ । राष्ट्र बैंकले सुधार गर्नुपर्ने अझै व्यवस्थाहरु छन । आगामी आर्थिक वर्षको पूर्ण मौद्रिक नीतिमा ती माग पनि सम्बोधन हुनेमा ढकाल आशावादी रहेका छन । यो अवस्थामा लगानीकर्ताहरु नआत्तिने र नहौसी सुझबुझुले कारोबार गरेमा शेयर बजारले उचाई कायम गर्ने ढकालको भनाई छ ।







