काठमाडौँ — चालु आर्थिक वर्षको नौ महिनामा बैंक तथा वित्तीय संस्थाले थप ३४ अर्ब २ करोड ८३ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो सेयर कर्जा ३७.८ प्रतिशतले बढी हो । सेयर कर्जा बढेको अनुपातमा सेयर बजार भने बढ्न सकेको छैन ।
चालु आर्थिक वर्षको सुरुदेखि नै सेयर कर्जा बढिरहेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत साउनदेखि चैतसम्म २५ देखि ५० लाखसम्मको सेयर कर्जा १५.१४ र २५ लाख रुपैयाँभन्दा कमको कर्जा ८.६ प्रतिशतले बढेको छ । सोही अवधिमा १ करोड रुपैयाँभन्दा बढीको कर्जा ५१.४ प्रतिशत र ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा भने १९.४ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।






