काठमाडौं - नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाई (FIU-Nepal) ले सन् २०२४ (जनवरी–डिसेम्बर) का गतिविधिहरू समेटिएको चौथो संस्करणको न्यूजलेटर सार्वजनिक गरेको छ।
न्यूजलेटरअनुसार, शंकास्पद कारोबार र गतिविधिको प्रतिवेदन अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशतले वृद्धि भएको छ। सन् २०२३ मा ६,२५५ प्रतिवेदन प्राप्त भएकोमा, सन् २०२४ मा यो संख्या बढेर ९,३०४ पुगेको हो।
FIU-Nepal ले सन् २०२४ मा ९,८९४ प्रतिवेदन विश्लेषण गरेको थियो। तीमध्ये ८०८ प्रतिवेदन अनुसन्धानका लागि सम्बन्धित निकायहरूमा पठाइएको र आवश्यक परेमा पुनः विश्लेषणको व्यवस्था गरिएको उल्लेख छ।
सीमा कारोबार प्रतिवेदन (Threshold Transaction Reports) को संख्यामा पनि उल्लेखनीय वृद्धि देखिएको छ। सन् २०२३ मा १० लाख ८३ हजार ९८३ विवरण प्राप्त भएकोमा, सन् २०२४ मा यो संख्या बढेर १९ लाख ७२ हजार ८५५ पुगेको छ।
FIU को goAML प्रणालीमा आबद्ध संस्थाहरू — सूचक निकाय, अनुसन्धान तथा नियामक निकाय — को संख्या सन् २०२३ को अन्त्यसम्म १,४९६ थियो भने सन् २०२४ मा बढेर १,९०५ पुगेको छ।
न्यूजलेटरमा २०२४ मा सम्पन्न क्षमता अभिवृद्धि कार्यक्रमहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय प्रयासहरू, साथै सम्पत्ति शुद्धीकरण र आतङ्ककारी वित्तीय गतिविधि नियन्त्रणसम्बन्धी दुईवटा विश्लेषणात्मक लेख पनि समावेश छन्।