सरकारले शेयर बजारबाट धेरै राजश्व संकलन गर्न गतवर्ष पूँजीगत लाभकर ५० प्रतिशतले वृद्धि गरेकोमा त्यसको उल्टो असर परेको देखिएको छ । सरकारले शेयरमा लाग्ने पूँजीगत लाभकर ५ प्रतिशतबाट ५० प्रतिशतले बढाई ७.५ प्रतिशत पुर्याएको थियो ।
सरकारले बढाएको करको दर अनुसार सोही अनुपातमा राजश्व वृद्धि हु्नुपर्नेमा लगानीकर्ताहरुमा नकारात्मक असर परी कारोवार रकम घटेर राजश्वमा समेत झिनो वृद्धि मात्र देखिएको छ ।
पछिल्लो चार बर्षमा सरकारले पूँजी बजारबाट तीन अर्ब ८३ करोड रुपैयाँ बराबरको लाभकर संकलन गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७४ /०७५मा एक खर्ब २१ अर्ब रुपैयाँ बराबरको शेयर किनबेच भई पूँजीगत लाभकर ५० करोड ७६ लाख रुपैयाँ असुल गरेकोे थियो भने गत आर्थिक वर्ष २०७५/०७६ मा एक खर्ब १० अर्ब रुपैयाँ बराबरको शेयर किनबेच भई पूँजीगत लाभकर ६१ करोड रुपैयाँ बराबर संकलन भएको सिडिएससिको तथ्यांकले देखाएको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले शेयरबजारबाट ठूलो मात्रामा रकम उठाउन भनेर पूँजीगत लाभकर बढाएको बर्षमा नै कर संकलनमा गिरावट देखिएको हो । करको दर बढेपछि लगानीकर्ताहरुमा नकारात्मक असर परेर किनबेच घटेसँगैे करको दर बढाए अनुसारको राजश्व संकलन भएको देखिदैन ।
पछिल्ला चार आर्थिक वर्षको कारोबार रकम र पूँजीगत लाभकर तुलना गर्ने हो भने पनि बढाइएको पूँजीगत लाभकर अपेक्षा अनुसारको नभएको सिडिएससिको तथ्यांकमा देखिन्छ । लगानीकर्ताहरुको चर्को दवावका कारण अर्थमन्त्रीले पूँजीगत लाभकर पूरानै अवस्थामा फर्काएर गल्ति सुधार्ने प्रयास भने गरेका छन् ।
......







