काठमाडौं : भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणनामा उत्पन्न विवाद समाधान भएको खबर सार्वजनिक भए लगत्तै पुँजी बजारमा पनि उत्साह देखिएको छ । कारोबार खुलेदेखि नै रातो भएको नेप्से विवाद मिलेको खबर आए लगत्तै बढ्न थालेको हो । अर्थ मन्त्रालय समस्या समाधान गर्न तयार भएकाले अब सेयर बेचेपछि लाभ कर गणना गर्न लगानीकर्ता ब्रोकर कार्यालयसम्म धाउनुपर्दैन ।
ल्याप्चे पनि लगाउनुपर्दैन । यसबाट लगानीकर्तामा नयाँ उमंग छाउने अनुमान गरिएको छ । बजेटपछि लगातार घटेको सेयर बजार साउन १ देखि भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणना गर्न थालिएपछि आएको विवादले झनै् प्रताडित भएको थियो । सूचीकृत कम्पनीहरुको नाफा बढे पनि यही समस्याका कारण बजारले गति लिएको थिएन । अब क्रमशः बजार माथि जाने लगानीकर्ताको विश्वास छ ।







