काठमाडौं । ट्रेड टावर लिमिटेडले सोमवारदेखि जारी गरेको आईपीओ खरीदका लागि पहिलो दिनमै ९४ प्रतिशतभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ खरीदका लागि पहिलो दिन १६ हजार ७५१ जनाबाट ३ लाख ७४ हजार १४० कित्ता शेयर खरीद माग भएको हो । कम्पनीले सर्वसाधारणमा जारी गर्ने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासनमा ल्याएको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८ दशमलव ६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कुल कित्तामध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९ कित्ता शेयर निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गरेको हो ।







