काठमाडौँ - हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन)गर्ने विशेष प्रस्ताव पारित गर्दै ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । मंगलबार आयोजित विशेष साधारण सभाले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने सम्बन्धी सम्झौता पत्र स्वीकृत गर्दै कम्पनी प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो ।
त्यस्तै साधारण सभाले प्राप्ति प्रयोजनका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन(डीडीए)का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात स्वीकृत गरेको छ । प्रतिवेदन अनुसार हाथवे फाइनान्स कम्पनीको १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंकको ४२ कित्ता शेयर प्रदान गर्ने गरी शेयर स्वाप अनुपात स्वीकृत भएको छ ।
विशेष साधारण सभामा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमईले बैंकको शाखा सञ्जाल र पूँजीगत आधार समेत सुदृढ गरी प्रतिस्पर्धी क्षमताको विकास गर्दै गुणस्तरीय सेवा प्रदान गर्नको लागि प्राप्तिमा गएको बताए ।
....