काठमाडौं : अमेरिकी सेयर बजारले सोमबार अघिल्ला २ कारोबार दिनको तुलनामा केही राम्रो प्रदर्शन गरे पनि एप्पलको सेयर भाउमा भने गिरावट जारी रहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार शुल्कबाट एप्पल ठूलो मारमा पर्ने चिन्ता बढ्दै जाँदा सेयर भाउमा ३.७ प्रतिशत गिरावट आएको छ । सोमबार पनि आएको बिक्रीचापपछि एप्पलको सेयर भाउ ३ दिनको अवधिमा १९ प्रतिशतले घटेको सीएनबीसीले लेखेको छ ।
उक्त ३ दिनको गिरावटले एप्पलको बजार पुँजीकरणमा ६३८ अर्ब डलरले कमी ल्याएको छ । विश्लेषकहरुका अनुसार एप्पल व्यापार युद्धको सबैभन्दा बढी जोखिममा परेका कम्पनीहरु मध्ये एक हो । जसको मुख्य कारण एप्पलको चीनमा निर्भरतालाई लिइएको छ । ट्रम्पले चीनबाट आयात हुने सामानहरुमा ५४ प्रतिशत भन्सार शुल्क लगाएका छन् । एप्पलको उत्पादनको ठूलो हिस्सा चीनमा रहेका कारण ट्रम्पको भन्सार नीतिले असर गर्नेछ ।







