काठमाडौं । टाइम फर्मास्युटिकल्स लिमिटेडले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । फागुन २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन सहित अन्य विविध प्रस्ताव पारितका लागि वैशाख ११ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको उद्योग परिसर, गैडाकोट, नवलपरासीमा अपरान्ह्र १२ः३० बजे हुनेछ ।
सभाले हालको जारी पूँजी ४२ करोड ९१ लाख ११ हजार ८०० रुपैयाँलाई संशोधन गरी ४६ करोड रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गर्नेछ । संशोधन गरी कायम हुने जारी पूँजीमध्ये ७९ दशमलव ३४७८ प्रतिशत संस्थापक समूहका लागि र २० दशमलव ६५२१ प्रतिशत सर्वसाधारण समूहका लागि वितरण हुनेछ । सभाले कम्तीमा एक जना महिला सञ्चालक सहित संस्थापकबाट पाँच जना र सर्वसाधारणबाट १ र स्वतन्त्र सञ्चालक १ गरी कुल ७ जनाको सञ्चालक समिति बनाउने प्रस्तावलाई पनि पारित गर्नेछ ।







