काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नयाँ नेतृत्व चयन भएको छ। सरकारको मन्त्रिपरिषद् बैठकले सोमबार साँझ नारदकुमार लुँइटेललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ। उनको नियुक्तिसँगै नेपालको सेयर बजार व्यवस्थापनमा नयाँ युगको सुरुवात हुने अपेक्षा गरिएको छ।
लुँइटेललाई पर्यटन क्षेत्रमा सफल व्यवस्थापकको छवि बनाएका अनुभवी व्यक्ति मानिन्छ। उनले यसअघि तारागाउँ विकास समिति को अध्यक्ष तथा सदस्यसचिवका रूपमा कार्यभार सम्हालेका थिए। साथै, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) का कार्यकारी निर्देशकको भूमिकामा रहेर संस्थागत सुधारमा महत्वपूर्ण योगदान पुर्याएका थिए।
अब उनले नेप्सेको नेतृत्व सम्हाल्दै देशको पूँजी बजारलाई व्यवस्थित बनाउने चुनौतीको सामना गर्नु पर्नेछ। पछिल्लो समय सेयर बजारमा देखिएको अस्थिरता, लगानीकर्ताको घट्दो विश्वास, प्रविधि सुधार तथा पारदर्शिता अभिवृद्धि जस्ता महत्वपूर्ण मुद्दाहरू समाधान गर्न लुँइटेलको रणनीति के हुनेछ भन्ने चासो अर्थजगतमा बढेको छ।







