काठमाडौं : पुँजी बजारमा सुधारको झिनो संकेत देखिएको छ । लगानीकर्ताका मागहरु धमाधम पूरा हुने तरखरमा छ । यसअघि लगानीकर्ताले उठाएका प्रमुख मुद्दाहरु सम्बोधन भइसकेका छन् । केही हुने तयारीमा छन् । पछिल्लो समय धितोपत्र बोर्डले बैंकलाई ब्रोकर लाइसेन्स खुला गर्न निर्देशन दिएको छ । लगानीकर्ताको यो पनि प्रमुख माग रहँदै आएको थियो । मार्जिन लेन्डिङ पनि सुरु हुने तयारीमा छ ।
सेयर धितो कर्जाको सीमा वृद्धि गरिएको छ । बैंकहरुले प्राथमिक पुँजीको ४०% सम्म सेयर कर्जा दिन सक्ने सुविधा छ । यसबाहेक नेप्से र धितोपत्र बोर्डले सुधारका थप काम गरिरहेका छन् । सेयर बजार पूर्णरुपमा प्रविधिमैत्री बन्ने तरखरमा छ । ब्रोकरहरुको क्षमता वृद्धि, शाखा विस्तार लगायतका कामले ग्रामीण क्षेत्रमा पनि पुँजी बजारको पहुँच वृद्धि हुने देखिन्छ । अहिले सेयर बजारका लागि खासै ठूलो नकारात्मक खबरहरु छैनन् । मौद्रिक नीतिलाई लिएर खडा गरिएको हाउगुजी पनि अब विस्तारै साम्य हुँदै जाने देखिएको छ ।








