केही दिनअघि चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी 'डिपसिक' ले यस्तै खालका अमेरिकी कम्पनीहरूलाई प्रतिस्पर्धामा उछिनेपछि सेयर बजारमा तहल्का मच्चिएको थियो।
बुधबार अर्को चिनियाँ प्रविधि कम्पनी अलिबाबाले आफ्नो 'क्वेन २.५' एआई मोडलको नयाँ संस्करण ल्याएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यो नयाँ मोडलले डिपसिक-भी३ लाई उछिनेको अलिबाबाले दाबी गरेको छ।
अलिबाबाको क्लाउड एकाइले आफ्नो आधिकारिक विच्याट अकाउन्टमा लेख्दै क्वेन २.५- म्याक्सले जिपिटी- ४ ओ, डिपसिक- भी ३ लगायतलाई लगभग सबै क्षेत्रमा पछि पारेको दाबी गरेको छ।
अलिबाबाले आफ्नो नयाँ एआई मोडल सार्वजनिक गर्न छानेको दिन अस्वाभाविक छ। किनभने आज चिनियाँ नयाँ वर्षको पहिलो दिन हो। यस दिन प्राय: चिनियाँहरू काममा नगई परिवारसँग समय बिताउँछन्। यसले विगत तीन हप्तामा डिपसिकको उदयले विदेशी मात्रै नभई घरेलु प्रतिस्पर्धीहरूमा पनि दबाब सिर्जना गरेको भनेर रोयटर्सले लेखेको छ।








