मोबाइल बैंकिङबाट हुने कारोबार रकमको सीमा बढेको छ । एक दिनमा १५ हजारको मात्रै कारोबार गर्न सकिनेमा अब ५० हजारसम्मको कारोबार गर्न सकिने भएको छ। यसअघि एक पटकमा अधिकतम ५ हजार रुपैयाँसम्म मात्रै कारोबार गर्न राष्ट्र बैंकले स्वीकृति दिएको थियो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा भुक्तानी प्रणालीको सुधार गर्ने बताएको थियो। बैंकले भुक्तानी प्रणालीलाई प्रविधिमैत्री बनाउने भन्दै विद्युतीय माध्यमबाट गरिने भुक्तानीलाई बढाउने र नगद कारोबारलाई क्रमशः घटाउँदै लैजाने नीति अवलम्बन गरिने घोषणा गरेको छ।
तर, बैंकले बिलबिनाको कारोबार भने महिनामा एक लाख रुपैयाँसम्म मात्रै कारोबार गर्न पाइने व्यवस्था छ।
इन्टरनेट बैंकिङमा मर्चेन्टबाट कारोबार गर्दा भने प्रतिदिन एक लाख रुपैयाँसम्म कारोबार गर्न पाइन्छ। यस्तो कारोबार महिनामा ३० लाखसम्मको गर्न सकिन्छ।
यस्तै, इन्टरनेट बैंकिङको माध्यमबाट बैंक खातामा पैसा ट्रान्सफर गर्दा प्रतिदिन बढीमा दस लाख तथा मासिक ५० लाखसम्मको व्यवस्था राष्ट्र बैंकले गरेको छ। भुक्तानी प्रणालीको आधुनिकीकरणका लागि पूर्वाधारको विकास गर्दै सबै आर्थिक कारोबार विद्युतीय माध्यमबाट गर्न प्रोत्साहन गरिनेछ मौद्रिक नीतिमा उल्लेख छ।
चालु आर्थिक वर्षभित्र वास्तविक समयको भुक्तानी प्रणाली सञ्चालनमा ल्याइने राष्ट्र बैंकले घोषणा गरेको छ। राष्ट्रिय भुक्तानी द्वार/स्वीचको विकासमार्फत् विद्युतीय भुक्तानी कारोबारको अन्तर आवद्धता सुनिश्चित गरी भुक्तानी कारोबारको राफसाफ स्वदेशमै हुने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ।
ग्राहकले क्रेडिट कार्डबाट स्वीकृत क्रेडिट सीमाको १० प्रतिशतमात्रै नगद झिक्न पाउने भएका छन्। बाँकी रकम विद्युतीय भुक्तानीमा मात्रै प्रयोग गर्न पाइने ब्यवस्था राष्ट्र बैंकले गरेको छ। यसअघि २०७५ असार ३१ मा निर्देशिका जारी गर्दै बैंकले २५ प्रतिशतसम्म नगद झिक्न पाउने व्यवस्था गरेको थियो








