गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभा मिति २०८१ पौष २९ गते, शुक्रबार पोखरा महानगरपालिका, कास्कीस्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ। साधारणसभाले आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदनसहित प्रस्तुत सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
सभाले बैंकका शेयरधनीहरूलाई वितरण गर्न प्रस्ताव गरिएको ५% (करसहित) नगद लाभांश स्वीकृत गरेको छ। साथै, संस्थापक शेयरधनीका तर्फबाट श्री दिलिप प्रताप खाँड, श्री श्याम प्रसाद बस्याल, र श्री दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनीका तर्फबाट श्री विमल पाण्डे, श्री शोभाकान्त ढकाल, र श्री आयुष्मा कोईरालालाई सञ्चालक समिति सदस्यमा सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।
साधारणसभा पश्चात बसेको सञ्चालक समितिको बैठकले श्री दिलिप प्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रूपमा मनोनित गरेको छ।
हाल बैंकको चुक्ता पूँजी रु ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको छ। साधारणसभाले पारित गरेको लाभांश २०८१ पौष १७ गतेसम्म कायम रहेका शेयरधनीहरूले प्राप्त गर्नेछन्।
गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर, ५१ एटीएम, र नविनतम डिजिटल बैंकिङ सेवामार्फत सरल, सुरक्षित, र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।








