काठमाडौँ — एक साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बाझिएका/नचाहिने निर्देशिका र कार्यविधि मापदण्ड खारेज गर्न सचिवहरूलाई निर्देशन दिए । दैनिक कार्यसम्पादनमा चाहिने मात्रै राखेर अन्य खारेज गर्न उनको निर्देशन थियो । तर प्रधानमन्त्रीको उक्त निर्देशनपछि नेटवर्किङ व्यवसायी चलखेलमा लागेका छन् ।
उनीहरूले वस्तुको प्रत्यक्ष विक्रीसम्बन्धी निर्देशिका खारेज गर्न ‘लबिइङ’ थालेका छन् ।
वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी निर्देशिका र नियमावलीमा मुनाफा बाझिएको भन्दै आफूअनुकूल नरहेको निर्देशिका खारेज गर्न उनीहरूले ‘लबिइङ’ थालेका हुन् । कांग्रेस–एमालेका नेतादेखि मन्त्रीलाई समेत भेटेर उनीहरूले आफ्नो काम गराइरहेका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसम्मलाई भेटेर उनीहरूले चलखेल थालेको बताइएको छ ।







