शेयरबजारका प्राविधिक शब्द, भाषा र चाल नबुझ्नेका लागि सेयरबाट नाफा हासिल गर्नु ‘हनुमानले सञ्जीवनी बुटी’ खोजेजस्तै हो । अन्यत्र अर्कै अर्थ दिने शब्दको शेयरबजारमा आफ्नै अर्थ हुन्छ ।यस्ता शब्दावलीको पर्याप्त जानकारीबिना लगानी र जोखीम व्यवस्थापन गर्न सकिन्न । शेयरबजार सिधा रेखामा चल्दैन, यसको चाल वक्रीय हुने भएकाले यसको चाल पहिल्याएर चल्न शेयरबजारका प्रचलित शब्दावली बुझ्नुपर्छ ।
बजार पूँजीकरण
पूँजीकरण वास्तविक नभएर काल्पनिक रकम हो । शेयरको मूल्य बढ्दा र घट्दा पूँजीकरण घटबढ हुन्छ । अधिक शेयर सूचीकरण भएको कम्पनीको कुनै दिन कारोबार भएन भने पूँजीकरण घट्छ । सूचीकरण भएको शेयर सङ्ख्यालाई कारोबार दिनको अन्तिम मूल्यले गुणन गरेर पूँजीकरण निकालिन्छ । १ करोड कित्ता सूचीकरण भएको छ र अन्तिम कारोबार मूल्य ५ सय रुपैयाँ छ भने यसको बजार पूँजीकरण ५ अर्ब हुन्छ । यसको सामान्य अर्थ १ करोड कित्ता पूरै बेचियो भने यसको कुल मूल्य ५ अर्ब हुन्छ भनिएको हो । एक दिनमा जति बराबरको किनबेच हुन्छ, त्यो वास्तविक रकम हो ।
बजार सूचक
बजार सूचक शेयर कारोबारमा हुने उतारचढावले घटबढ हुन्छ । शेयर कारोबारमा हुने उतारचढावले सूचकलाई प्रभाव पार्छ, सूचकले सेयरलाई पार्दैन । कम्पनीको स्थितिलाई हेरेर लगानी गरेमा वा भाउ घटबढ हुँदा सही व्यवस्थापन गरेमा सूचक घटबढ हुँदा आत्तिनु पर्दैन । शेयरबजारमा सूचीकरण भएका शेयर कारोबारलाई मापन गर्न लिएको सामान्य आधार सूचक हो ।
सूचक गणनाको आधार विन्दु १, १ सय वा १ हजार जहाँबाट पनि शुरू गर्न सकिन्छ । नेप्से सूचक गणना १ सयलाई आधार मानि गरिएको छ । नेप्सेमा सूचीकरण भएका र कारोबारमा आउने सबै शेयरलाई सूचक गणनामा सामेल गराइन्छ । बम्बे स्टकमा ३० ओटा र नेशनल स्टकमा ५० ओटा कम्पनीको मात्र सूचक निकालिन्छ । नेप्से सूचकसहित सेन्सेटिभ, फ्लोट, सेन्सेटिभ फ्लोट र उपसूचक गरी ५ प्रकारका सूचक गणना गरिन्छ ।
बूक क्लोज, समायोजन, आधार मूल्य
...








