काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौँको कमलादीस्थित कर्पोरेट कार्यालयमा विशेष कार्यक्रम आयोजना गर्दै सप्ताहव्यापी उत्सवको थालनी गरेको छ। २०६३ साल पौष १८ गते स्थापना भएको बैंकले बिहीबारदेखि १९औँ वर्षमा प्रवेश गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जर, व्यवसाय विस्तार, र गुणस्तर अभिवृद्धिसँगै ग्राहक सेवामा उच्च प्राथमिकता राख्दै सुरक्षित डिजिटल बैंकिङ्गको आवश्यकतालाई औँल्याउनुभयो। उहाँले भने, “डिजिटल युगमा प्रविधिमैत्री सेवा अपरिहार्य छ। तर, डिजिटल बैंकिङ्गलाई सुरक्षित बनाउन उच्च प्राथमिकता दिनु जरुरी छ। सुरक्षालाई आधार बनाएर मात्र प्रविधिको अंगीकरण गर्न सकिन्छ।”
उत्कृष्ट सेवा र डिजिटल रूपान्तरणमा प्रतिबद्धता
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले ग्राहकहरूको सन्तुष्टि र समयअनुकूल सेवा प्रदान गर्न बैंकले नविनतम प्रविधि र डिजिटल बैंकिङ्ग समाधानमा केन्द्रित भएको बताउनुभयो। उहाँले आगामी दिनमा बैंकिङ्ग सेवालाई अझ गुणस्तरीय र ग्राहकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
१५ वर्षे सेवा योगदानलाई सम्मान
वार्षिकोत्सवको अवसरमा १५ वर्षदेखि निरन्तर सेवा पुर्याएका १६६ कर्मचारीलाई सम्मान गरिएको छ। अध्यक्ष ढकालले कर्मचारीहरूको अथक मिहिनेत र लगनशीलताको प्रशंसा गर्दै ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंक बनाउने यात्रामा उनीहरूको महत्वपूर्ण योगदान रहेको बताउनुभयो।
राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता
ग्लोबल आइएमई बैंकले २०२४ का लागि ग्लोबल फाइनान्स बेस्ट बैंक अवार्ड र युरो मनी अवार्ड फर एक्सलेन्स लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान हासिल गर्दै आफ्नो अग्रणी स्थान सुरक्षित गरेको छ।
देशभर फैलिएको सेवा सञ्जाल
बैंकले सतहत्तरै जिल्लामा ३५५ शाखा कार्यालय, ३८४ एटीएम, २३७ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन काउन्टर, र ३ वटा विदेशी प्रतिनिधि कार्यालयमार्फत उत्कृष्ट सेवा प्रदान गरिरहेको छ।
रेमिट्यान्स सेवामा अग्रणी भूमिका
ग्लोबल आइएमई बैंकले नेपाली नागरिकलाई बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, खाडी मुलुकहरू लगायत विश्वभरबाट रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ।
बैंकले आफ्नो १८ वर्षको यात्रामा वित्तीय सूचकांकहरूमा अब्बल स्थान हासिल गर्दै नेपाल सरकार र राष्ट्र बैंकका नीतिहरूको परिपालना गर्दै आएको छ।
ग्लोबल आइएमई बैंकले डिजिटल युगमा सुरक्षित र प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भविष्यका योजनाहरूलाई अझ मजबुत बनाउने उद्घोष गरेको छ।