काठमाडौं : श्रीलंकाको सेयर बजार अल टाइम हाई विन्दुमा पुगेको छ । त्यहाँको मार्केट डिसेम्बर महिना भर बढेको छ । जसमध्ये सूचकांकले १९ कारोबार दिनदेखि दैनिक नयाँ हाईको रेकर्ड कायम गरेको छ । यसबीच मार्केटमा १ दिनपनि करेक्सन देखिएको छैन । यस्तो वृद्धि सम्भवतः सेयर बजारको इतिहासमा बिरलै देखिन्छ ।
श्रीलंकाको कोलम्बो स्टक एक्सचेन्जको मुख्य सूचकांक ‘एएसपीआइ स्टाटिस्टिक’ यो समाचार लेख्दै गर्दा (साढे २ बजे) १५ हजार ९३१ विन्दुमा कारोबार हुँदैछ । यसअघि सन् २०२४, डिसेम्बर ४ मा १३ हजार ५११ विन्दुमा बन्द भएको थियो । १३ हजार विन्दुको हाईलाई ब्रेक गरेपछि मार्केटले कुनै करेक्सन बिनै दैनिक नयाँ हाई बनाएको छ । अर्को सूचकांक ‘एस एन्ड पी एसएल २०’ पनि अल टाइम हाई विन्दुमा पुगेको छ । सूचकांक ४ हजार ८५९ विन्दुमा पुगेको छ । १ महिनामा यो इन्डेक्स २५ प्रतिशत बढेको हो ।






