के हो मनि म्यूल अपराध ? जानाै, तपाईंको बैंक खाता कति सुरक्षित ?


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
के हो मनि म्यूल अपराध ? जानाै, तपाईंको बैंक खाता कति सुरक्षित ?

के तपाईंले कहिल्यै आफ्नो बैंक खाता वा डिजिटल वालेट अन्य व्यक्तिलाई प्रयोग गर्न दिनुभएको छ? यदि हो भने, तपाईं "मनी म्यूल" (Money Mule) अपराधको शिकार बन्न सक्नुहुन्छ। पछिल्लो समय वित्तीय अपराधीहरूले सामाजिक सञ्जाल, इमेल र मोबाइल सन्देशमार्फत आकर्षक प्रस्ताव राख्दै सर्वसाधारणलाई आफ्नो खाताको विवरण दिन प्रेरित गरिरहेका छन्। यस्तो अवस्थामा छिटो र सजिलो पैसा कमाउने प्रलोभनमा पर्नु वित्तीय सुरक्षाका लागि गम्भीर जोखिम बन्न सक्दछ।

मनी म्यूल भन्नाले ती व्यक्तिहरूलाई जनाउँछ, जसको बैंक खाता अपराधीहरूले गैरकानुनी रकमको लेनदेनका लागि प्रयोग गर्ने गर्दछन्। अपराधीहरूले यस्तो रकम प्रायः ठगी, साइबर अपराध वा अन्य गैरकानुनी कार्यहरूबाट कमाउँछन् । त्यसलाई बैंक खाता प्रयोग गरी नगद झिक्ने वा अर्को खातामा स्थानान्तरण गर्ने गर्छन्। यस प्रक्रियाले खाताधारकलाई अन्जानमै अपराधमा सहभागी बनाउँछ, जसले कानुनी झमेलामा पार्न सक्छ।

सामान्यतया अपराधीहरू ईमेल, Facebook Messenger, WhatsApp, Telegram, Viber, जस्ता सामाजिक सञ्जालहरू वा फोनमार्फत सम्पर्क गर्छन्। उनीहरू ‘तुरुन्तै पैसा कमाउने सुनौलो अवसर’, ‘घरमै बसेर काम गरी आम्दानी गर्न सकिने प्रस्ताव’, वा अन्य आकर्षक अफर प्रस्तुत गरेर बैंक खाता वा डिजिटल वालेटको विवरण माग्छन्। यस्तो प्रस्तावमा पर्नु तपाईंको लागि गम्भीर खतरा हुन सक्छ, यसले सम्पत्ति शुद्धीकरण (Money Laundering) जस्तो गम्भीर अपराधमा तपाईंलाई मुछ्न सक्दछ।

नेपालमा पनि डिजिटल वित्तीय अपराधको जोखिम बढ्दै गएको छ। बैंक तथा वित्तीय संस्थाहरूले बारम्बार आफ्ना ग्राहकहरूलाई सचेत गराउँदै आएका पनी छन् । जस्ताे खाताको पासवर्ड, OTP, PIN कोड वा अन्य व्यत्तिगत गाेप्य जानकारी कुनै पनि व्यक्तिलाई शेयर गर्नाले कानुनी जोखिम निम्त्याउन सक्छ। मनी म्यूल जस्ता कार्यहरूमा संलग्न पाइएको खण्डमा तपाईंसँग ठगी मात्र होइन सम्पत्ति शुद्धीकरण कानुनअनुसार कारबाही हुन सक्छ । जसमा जेल सजाय र आर्थिक जरिवाना समेत लाग्न सक्छ।

तसर्थ, छिटो र सजिलो आयका कुनै पनि प्रस्तावलाई सतर्कतापूर्वक मूल्यांकन गर्न र शंका गर्न आवश्यक छ। यदि कसैले तपाईंलाई आफ्नो खातामा पैसा जम्मा गर्न र त्यसलाई झिकेर अरूलाई हस्तान्तरण गर्न आग्रह गर्छ भने तत्काल नकार्नुपर्छ। साथै, यस्ता कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्तै आफ्नो बैंकलाई जानकारी गराउनुपर्छ। वित्तीय अपराध रोकथामका लागि व्यक्तिगत सतर्कता पहिलो सुरक्षा हो।

मनी म्यूल अपराध एक गम्भीर खतरा हो। यसबाट जोगिनका लागि तपाईंले आफ्नो बैंक खाता र वालेटको जानकारी कुनै पनि अवस्थामा अन्य व्यक्तिसँग बाँड्न नहुने नियम पालना गर्नुपर्छ। सचेत र जिम्मेवार डिजिटल व्यवहार अपनाएर मात्र हामी सुरक्षित वित्तीय वातावरण बनाउन सक्नेछौं। आफ्नो बैंक खाता तपाईंको व्यक्तिगत सम्पत्ति हो; यसलाई सुरक्षित राख्नुहोस् र कुनै पनि अपराधिक जालमा फस्नबाट जोगिनुहोस्।

  • MBL - below news
  • EBL Ad news