काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफूले नियमन गर्ने बीमा कम्पनीहरूलाई तत्काल शेयर टुक्र्याएर किनबेच गर्न नदिने स्पष्ट पारेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर टुक्र्याउने सम्बन्धमा आवश्यक प्रक्रियाको विषयमा प्राधिकरणबाट जानकारी माग गरेको सन्दर्भमा प्राधिकरणले बजारको अवस्था हेरेर तत्काल शेयर टुक्र्याउने सुविधा दिने कुनै योजना नरहेको बताएको हो । प्राधिकरणका उपनिर्देशक एवं कानून विभाग प्रमुख साम्भराज लामिछानेले शेयर टुक्र्याएर मूल्य बढाउँदा वा घटाउँदा लगानीकर्तामा अन्योल हुने र खुला बजारमा त्यसले नकारात्मक प्रभाव पार्ने सम्भावना रहेकाले यस्तो सहमति दिने कुनै योजना नरहेको बताए । ‘कम्पनीका सन्दर्भमा शेयर टुक्र्याउँदा सबै लगानीकर्ताको पहुँच पुग्ने मान्यता जायज होला । तर, बजारमा अन्योल सृजना भई मूल्यमा चलखेल हुने सम्भावना रहेकाले हामी यस मामलामा उदार भएका छैनौं ।’

 
                                    





