काठमाडौं : चीनको विदेशी विनिमय नियामकले सार्वजनिक गरेको तथ्यांकअनुसार नोभेम्बरमा चीनको पुँजी बजारबाट रेकर्ड ४५ अर्ब ७० करोड डलर बराबरको रकम बाहिरिएको छ । डोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपति निर्वाचन जितले विश्वव्यापी पोर्टफोलियो प्रवाहलाई असर गरेको देखिएको रोयटर्सले जनाएको छ ।
पोर्टफोलियो लगानीबाट भएको क्रस बोर्डर आम्दानी १८८ अर्ब ९० करोड डलर र कुल भुक्तानी २३४ अर्ब ६० करोड डलर पुगेको छ । देशमा भित्रिएको भन्दा बाहिरिएको रकम धेरै छ । यो तथ्यांक त्यहाँको सेयर बजारको उछाल कमजोर हुँदै गएको समयमा सार्वजनिक भएको छ । यसैबीच, ट्रम्पको ट्यारिफ धम्कीका कारण युआन डलरको तुलनामा कमजोर भइरहेको छ ।







