ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारण सभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा र पुँजी समायोजन कोषबाट ५.५ प्रतिशत बोनस शेयर लाभांश वितरण गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ।
सभामा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरण अनुमोदन गरिनुका साथै बोनस शेयर वितरणपछि पूँजी वृद्धिको सीमा अनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गरिएको छ।
आर्थिक वर्ष २०८०/८१ मा बैंकले १२ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको छ। प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्नेछ।
साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको पूर्ण पालना गर्दै शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले बैंकले नयाँ व्यवसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै आफ्नो व्यावसायिक रणनीतिक योजना अघि बढाइरहेको पनि उल्लेख गर्नुभयो।