काठमाडौं । सम्पत्ति शुद्धीकरणको रिपोर्टिङका लागि ल्याइएको गोएएमएल प्रणालीमा सहकारी संस्थाहरूको आबद्धता कमजोर देखिएको छ । गोएएमएल प्रणालीमा नेपाल राष्ट्र बैंकबाट अनुमति लिएका बैंक, वित्तीय संस्था र रेमिट्यान्स मनी चेन्जरका साथै बीमा, स्टक ब्रोकरलगायत कम्पनीको आबद्धता भने बलियो देखिएको छ ।
वित्तीय जानकारी एकाइका अनुसार मङ्सिर २० गतेसम्ममा कुल १ हजार ८४२ ओटा संघसंस्था तथा कम्पनी गोएएमएलमा आबद्ध भएका छन्, जसमा सञ्चालनमा रहेका सबै बैंक, वित्तीय संस्था र बीमा कम्पनी देखिएको छ । सहकारीको उपस्थिति भने कमजोर देखिएको छ ।
सहकारी विभागले वार्षिक १० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सहकारीलाई गोएएमएल प्रणालीमार्फत सम्पत्ति शुद्धीकरणको रिपोर्टिङ अनिवार्य गरेको छ । मङ्सिर २० सम्म यसमा आबद्ध हुने सहकारीको संख्या १ हजार ७२ पुगेको छ । तर, वार्षिक १० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने सहकारी ३ हजारको हाराहारीमा छन् ।








