नबिल बैंकको चौथो फेलोसिप कार्यक्रम सुरु, सामाजिक उद्यमशीलता विकासमा नयाँ कदम


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नबिल बैंकको चौथो फेलोसिप कार्यक्रम सुरु, सामाजिक उद्यमशीलता विकासमा नयाँ कदम

काठमाडौं । नबिल बैंक लिमिटेडले सामाजिक उद्यमशीलता विकासमा निरन्तर आफ्नो योगदान विस्तार गर्दै आएको छ। यसैको अंशको रूपमा नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले चौथो ब्याचको फेलोसिप कार्यक्रम सुरु गरेको छ। । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (सोमटियु)सँगको सहकार्यमा सञ्चालित यस कार्यक्रममा उद्यमी बन्न चाहने २० जनाले सहभागिता जनाएका छन् ।

नबिल बैंकले सामाजिक उद्यमशीलतामा रुचि राख्ने, नवीन सोच भएका र व्यवसायिक दृष्टिकोणबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन इच्छुक युवाहरूसम्म पहुँच पुर्याउने उद्देश्य राखेर यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअघि तीन समूहलाई सामाजिक उद्यमशीलतामा आधारित तालिम दिइसकेको छ।

अध्यक्ष पौडेलले नबिलले दिगो बैंकिङको अवधारणाअनुसार अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राख्दै नेपालको सन्दर्भमा कसरी अघि बढ्न सकिन्छ भन्ने सोचका साथ यस्ता कार्यक्रम सञ्चालन गरेको बताए । नबिल बैंकले कीर्तिपुरमा उद्यमशीलता विकासका लागि ’हव’ स्थापना गर्न खोजिरहेको जानकारी दिँदै उनले विश्वविद्यालयसँग समन्वयका लागि अनुरोध गरे ।

नबिल बैंकका सञ्चालक निर्वाण चौधरीले पनि सामाजिक उद्यमशीलतामा रुचि राख्ने व्यक्तिहरूसँग सधैं उत्कृष्ट प्लेटफर्मको रूपमा नबिल बैंक प्रस्तुत गर्दै आएको बताए। "हाम्रो उद्देश्य भनेको उद्यमशीलता क्षेत्रमा समाजको समृद्धि र समावेशी विकासमा सक्रिय योगदान दिनु हो। हामीले बैंकिंग र परामर्श सेवा दुबैमा युवा उद्यमीहरूको सहयोग गर्दै आएका छौं," चौधरीले भने।

नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उद्यमशीलता विकासमा महत्त्वपूर्ण योगदान दिइरहेको बताए । उनले "हामीले के गर्यौँ?" भन्ने प्रश्नमा गर्वका साथ जवाफ दिन सकिने गरी यो कार्यक्रमको प्रभाव परेको उनको प्रतिक्रिया छ ।

चौथो ब्याचको फेलोसिप कार्यक्रममा सहभागीहरूले ६ महिनाको अवधिमा १८ दिनको आवासीय तालिम र एक वर्षसम्मको परामर्श सेवासमेत प्राप्त गर्नेछन्। यस कार्यक्रममा सहभागीहरूले आफ्नो उत्पादनको ब्रान्डिङ, मार्केटिङ र बैंकिङका रणनीतिहरू सिक्ने अवसर पाउनेछन्। नबिल बैंकले यस कार्यक्रमको माध्यमबाट उद्यमीहरूलाई व्यवसाय सञ्चालनका लागि आवश्यक सम्पूर्ण समाधान र सहकार्य प्रदान गर्दै आएको छ।

यो कार्यक्रम विशेष गरी महिला उद्यमीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले पनि सञ्चालन गरिएको हो। यस पटक २० सहभागीमध्ये ११ जना महिला छन्। सहभागीहरूले पर्यावरणमैत्री व्यवसायका थुप्रै नयाँ विचारहरू प्रस्तुत गर्दै आएका छन्, जसमध्ये प्राकृतिक जडिबुटीबाट सौन्दर्य सामग्री उत्पादन, डिजिटल लर्निङ प्लेटफर्मको विकास, र कृषि उत्पादनसम्बन्धी नयाँ योजनाहरू समावेश छन्।

नबिल एसएसई कार्यक्रममार्फत हालसम्म ५६ जना सामाजिक उद्यमीलाई तालिम दिइएको छ, जसले ४५ वटा नयाँ उद्यम स्थापना गरेका छन्। यस पहलले १,२०० भन्दा बढी व्यक्तिहरूलाई रोजगारका अवसरहरू प्रदान गरेको छ। नबिल बैंकको यो कदमले नेपाली समाजमा दीगो आर्थिक विकासका अवसरहरू सिर्जना गरेको छ, जसले आर्थिक र सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नेछ।

  • MBL - below news
  • EBL Ad news