लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वत अस्पताल समस्यामा परेको छ। स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र अस्पतालले झण्डै रु तीन करोड भुक्तानी पाउन नसकेको हो।
गत आर्थिक वर्षदेखिको स्वास्थ्य बीमा तथा डाइलाइसिसबापतको रु दुई करोड ९५ लाख १७ हजार पाँच सय २२ रकम भुक्तानी लिन नसक्दा अस्पतालका अन्य सेवा प्रभावित बनेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिए।
अस्पतालले स्वास्थ्य बीमा गरेका बिरामीको परीक्षण गरेबापत सरकारले उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ। तर सरकारले समयमा रकम भुक्तानी नदिँदा भुक्तानी रकम बढ्दै गएको उनले बताए। स्वास्थ्य बीमाको रकम भुक्तानी नपाँउदा औषधि तथा उपकरण खरिद, कर्मचारीको तलबभत्ता भुक्तानी तथा अन्य नियमित काममा समस्या परेको डा बाँस्तोलाले बताए। रकम भुक्तानीका लागि पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ।