काठमाडौँ — भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणनाको विषयमा देखिएको विवाद अझै टुङ्गिएको छैन । सरोकारवाला र अर्थ मन्त्रालयबीच पटक–पटक छलफल भए पनि निर्णय हुन नसक्दा विवाद सोमबारसम्म नटुङ्गिएको हो । यो विवादले दोस्रो बजारका लगानीकर्ता अन्योलमा परेका छन् । यही कारण पछिल्ला दिनहरूमा सेयर कारोबार रकम बढ्न सकेको छैन । सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत साउन १ गतेदेखि पुँजीगत लाभकर गणना विधि परिमार्जन गरेको थियो । नयाँ व्यवस्थाअनुसार लगानीकर्ताले लाभ गणना गर्दा जुन निकायको हित निःसर्ग हुने हो, त्यस्तो निकायमा सो मितिमा सो व्यक्तिको स्वामित्वमा रहेको हितको भारित औसत लागतको आधारमा गणना गर्नुपर्ने व्यवस्था छ ।








