डिजिटल युगमा प्रविधिको तीव्र विकास र इन्टरनेटको व्यापक प्रयोग हुनु स्वाभाविकै हो। जसले मानिसको दैनिक जीवनलाई सजिलो र प्रभावकारी बनाएको छ। यसैले सायद अचेल ‘हार्ड वर्क’, ‘स्मार्ट वर्क’मा बदलिएको छ। व्यक्तिगत जीवन होस् या व्यापारिक गतिविधि, प्रविधिको प्रयोगले हरेक क्षेत्रमा सहजता छ। तर, प्रविधिको बढ्दो प्रयोगसँगै नयाँ प्रकारका जोखिम र खतराहरू पनि उत्पन्न भइरहेका छन्। साइबर अपराध र अनलाइन आक्रमणहरू विश्वभरि बढ्दै गएका छन्। यसले व्यक्तिगत, संस्थागत र राष्ट्रिय सुरक्षा खतरामा पारिरहेको छ।
साइबर सुरक्षा, जसलाई डिजिटल सुरक्षाका रूपमा पनि चिन्छौं, हाम्रो डिजिटल सम्पत्ति र सूचनालाई यी खतराहरूबाट सुरक्षित राख्न अत्यन्त जरुरी छ तर कठिन पनि छ। यसका बाबजुद यो सुरक्षा उपायले व्यक्तिगत तथ्यांक, वित्तीय जानकारी र संस्थागत गोपनीयतालाई जोगाउने काम गर्छ। विश्वका अन्य मुलुकजस्तै नेपाल पनि साइबर सुरक्षा चुनौतीहरूबाट अछुतो छैन। इन्टरनेटको पहुँच र डिजिटल सेवाहरूको प्रयोगमा वृद्धि हुँदै जाँदा साइबर खतराहरूको जोखिम पनि बढ्दै गएको छ। नेपालमा विभिन्न सरकारी वेबसाइट ह्याक भएका छन्, जसले सरकारी तथ्यांक र सूचनाको सुरक्षा चुनौतीमा पारेको छ।








