काठमाडौं । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७४/०७५ मा बितरण गरेको लाभांशभन्दा आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट बाड्ने लाभांश करिब दोब्बरले बढ्ने अनुमान गर्न थालिएको छ । बैंकहरुले गत वर्षको अन्त्य असारसम्म गरेको नाफाका आधारमा त्यस्तो देखिएको हो ।
अघिल्लो आर्थिक वर्षमा कमाएको नाफा र जगेडा कोषमा राखेको रकमले गत वर्ष वाणिज्य बैंकहरुले समग्रमा १२ देखि १३ प्रतिशत मात्र लाभांश वितरण गर्न सफल भए । गत आर्थिक वर्षमा बैंकको नाफाले यसपटक गत वर्षभन्दा बढी लाभांश बाँड्न सक्ने सम्भावना बैंकहरुको अहिलेसम्म गरेको नाफाले देखाएको छ । यो वर्ष समग्रमा २० देखि २२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने अवस्थामा पुग्ने अनुमान गरिएको छ । सबै बैंकले आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याइसकेकाले बैंकको लगानी बढेको र त्यसबाट आम्दानी पनि बढेको हुनाले गत आवमा बैंकको नाफा बढेको हो ।
बैंकहरुले गत आवको अन्त्य (असारसम्म) को वित्तीय विवरण सार्वजनिक गरिरहेको बेला बैंकरहरुको यस्तो प्रतिक्रिया आएको हो । हुन पनि असारसम्ममा अधिकांश बैंकको नाफा बढेको छ । गत आर्थिक वर्षको अन्त्य (असारसम्म) मा माछापुच्छे« बैंकले १ अर्ब ७० करोड रुपैयाँ खुद आम्दानी गरेको छ । उक्त बैंकले अघिल्लो वर्ष १ अर्ब २४ करोड मात्र नाफा गरेको थियो । उक्त बैंकले सार्वजनिक गरेको बैंकको वित्तीय विवरणमा यस्तो देखिएको हो । माछापुच्छे« बैंकको अघिल्लो वर्ष प्रतिशेयर आम्दानी १५.८१ रुपैयाँ थियो । बैंकको आम्दानी बढेर गत वर्ष २१.१५ पुगेको छ । यसले पनि बैंकले बढी लाभांश दिने स्पष्ट हुन्छ ।
...








