ल्यापटपको सुरक्षा र सरसफाइ


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
ल्यापटपको सुरक्षा र सरसफाइ

काठमाडौं । आजभोलि ल्यापटप मानिसको दैनिकीको महत्त्वपूर्ण अंश भइसकेको छ । ल्यापटपले घर तथा कार्यालयको कामलाई धेरै सहज बनाउने कारण यसका प्रयोगकर्ता ल्यापटपमै रमाउने गर्छन् । ल्यापटपको सदुपयोग र सरसफाइमा ध्यान नदिँदा अनाहकमा दुःख पाउनेहरू पनि धेरै छन् । काठमाडौंको न्यूरोडमा ल्यापटप मर्मत गर्दै आएका सुदीप केसी भन्छन्, ‘धेरैजसो ल्यापटप बनाउन आउने धेरैजसोले यसमा चिया वा कफी पोखेको देखिन्छ ।’ उनका अनुसार ल्यापटप प्रयोगकर्ताहरू त्यसको सही तरीकाले हेरचाह गर्न जान्दैनन्, जसले गर्दा यसको बाहिरी भाग मात्र फोहोर नभएर भित्री प्रविधिमा समेत गडबडी आउँछ ।

ल्यापटपमा काम गरिरहँदा चिया, कफीजस्ता तरल पदार्थबाट टाढै रहनुपर्छ । यस्ता जुनसुकै तरल पदार्थ ल्यापटपमा पोखिएमा त्यसले ल्यापटप बिग्रने सम्भावना बढी हुन्छ । आफ्नो ल्यापटप कम्तीमा पनि वर्षको एकपटक प्राविधिकलाई देखाउँदा अप्ठ्यारो र हतारको समयमा धोका नदिने बुझाइ केसीको छ । यसो गरेमा ल्यापटपको भित्री भागमा रहेको फोहोर पनि सफाइ गर्न सकिन्छ । उनी भन्छन्, ‘सफाइ गर्नुअगावै ल्यापटपसँग जडान भएका बाहिरी केबल तथा अन्य उपकरण छुटाउनुपर्छ । किबोर्ड तथा कुना सफा गर्न ब्रसको सहयोग लिनुपर्छ । ल्यापटप सफा गर्ने कपडामा तेल या पानी लागेको हुनु हुँदैन ।’

केसीका अनुसार ल्यापटप सफा गर्न विभिन्न क्लिनिङ केमिकल प्रयोग गर्नु हुँदैन । सफा कपडाले मात्रै सफा गर्नुपर्छ । ल्यापटको बाहिरी सफाइका साथै भित्री सफाइ गर्न ब्लोर मेशिनको पनि सहयोग लिनुपर्ने हुन्छ ।

ल्यापटप चलाउने बेला जहिले पनि समतल र कडा ठाउँमा राख्नुपर्दछ । ल्यापटपको तल्लो भागमा ताप आउने पंखा हुने भएकाले ओछ्यान तथा सोफामा राखेर चलाउँदा हावाको प्वाल टालिन सक्छ र ल्यापटप बढी तात्ने समस्या हुन्छ । चलिरहेको ल्यापटप बढी तातो हुन नदिन उक्त पंखाको प्रयोग गरिएको हुन्छ ।

ल्यापटप सधैं आफैसँग रहने हुँदा यो नजीकको डिजिटल साथी हुन्छ । महŒवपूर्ण फाइल तथा जानकारी संग्रह गरेर राखिने हुँदा यसको सुरक्षा निकै महत्त्वपूर्ण हुन्छ ।

पासवर्डको प्रयोग
अन्य व्यक्तिले जथाभावी प्रयोग नगरून् भन्न ल्यापटपमा पासवर्ड राख्ने गर्नुपर्छ । राम्रो पासवर्ड त्यो हो, जसमा अंक, सानो र ठूलो अंग्रेजीका अक्षर र किबोर्डमा भएका चिह्नहरूको राम्रो समायोजन हुन्छ । ल्यापटप खोल्दा वा कामको बीचैमा एकैछिन स्क्रिन ढप्क्याउँदा पनि पासवर्ड चाहिने गराउनुपर्छ ।

तरल पदार्थबाट सावधानी
ल्यापटपमा तरल पदार्थ पोखिएमा उपकरणमा नराम्रो असर पर्छ । त्यसैले सकेसम्म ल्यापटप चलाउँदै चिया, कफी खाने बानी हटाउनुपर्छ । चिया कफी खान समय निकाल्न गाह्रो छ भने कभरसहितका कप वा ग्लासको प्रयोग गर्दा पोखिने सम्भावना न्यून हुन्छ । तरल पदार्थ पोखिएमा ल्यापटपमा रहेका माइक्रोइलेक्ट्रानिक कम्पोनेन्ट (सूक्ष्म विद्युतीय सामग्री)मा खराबी आउन सक्छ । साथै शर्ट सर्किट हुँदा यसमा सञ्चित डाटालगायत हराउने सम्भावना रहन्छ ।

एन्टिभाइरसको प्रयोग
इन्टरनेटबाट विभिन्न सामग्री डाउनलोड गर्दा चनाखो भए तापनि तीसँगै भाइरससमेत भित्रिने खतरा रहन्छ, जसले गर्दा सर्किट एरर वा प्रणालीमै सप्mटवेयर समस्या आउने सम्भावना रहन्छ । उपकरणमा भाइरस पसेमा यसले समग्र प्रणालीको कार्य क्षमतामै ह्रास ल्याउन सक्छ । त्यसैले, एन्टिभाइरसको प्रयोग गर्नु बुद्धिमानी ठहरिन्छ ।

खाना तथा घरपालुवा जीवबाट टाढा राख्ने
ल्यापटपलाई सकेसम्म खाना तथा घरपालुवा जनावरबाट टाढै राख्नु राम्रो हुन्छ । ल्यापटपनजीक खाना खाँदा खानाका टुक्रा यसमा पसेर समयान्तरालमा उपकरणमै खराबी आउन सक्छ । साथै घरपालुवा जनावरका भुत्ला मात्रै पसे पनि उपकरणमा असर पर्न सक्छ । जनावर ठूला भएमा उपकरणमा ठेस लाग्ने, तारसँग अल्झिनेलगायत सम्भावना हुन्छ । यसले उपकरण राखिएको स्थानबाट खस्नेलगायत खतरासमेत रहन्छ । यस्तो भएमा उपकरणमा क्षति पुग्न सक्छ ।

हात धोएर मात्र चलाऔं
ल्यापटपको प्रयोग गर्नुपूर्व आफ्ना हात सफा गर्नु राम्रो हुन्छ । यसले टचप्याड चलाउन सहज हुनुका साथै उपकरणमा धूलो तथा दाग बस्न पाउँदैन । यसो गर्दा पसिना तथा हातहमा अड्केका सूक्ष्म फोहोरले ल्यापटप कोरिने तथा बाहिरी बनोटमा खराबी हुने सम्भावनासमेत कम हुन्छ ।

डिस्प्लेको सुरक्षा
ल्यापटप बन्द गर्दा स्क्रिन र किप्याडका बीचमा केही पनि नरहेको निश्चित गर्नु आवश्यक छ । उपकरण बन्द गर्दा कलम, एयरफोनलगायत सामग्री किबोर्डमा रहेमा यसले उपकरणको स्क्रिन कोर्न सक्छ । साथै स्क्रिन बन्द गर्दा अत्यधिक बलको प्रयोग पनि गर्नुहुँदैन ।

उठाउँदा होशियारी
ल्यापटपलाई कहिल्यै पनि स्क्रिनमा समाएर उठाउनु हुँदैन । यसका लागि सधैं ‘बेस’को प्रयोग गर्नुपर्छ । स्क्रिनमा चाप पर्दा डिस्प्ले सहजै बिग्रन सक्छ । त्यसैले यसमा चाप नपरोस् भन्नेमा विशेष सकर्तता अपनाउनुपर्छ ।

पावर कर्ड नटान्नुहोस्
ल्यापटपमा रहेको पावरकर्ड निकाल्दा सधैं प्लगमा समाएर निकाल्ने बानी बसाल्नु राम्रो हुन्छ । सीधै तार समाएर प्लग निकाल्दा यसले पावर कर्ड चुँडिन वा अन्य समस्या आउन सक्छ । पावर कर्डमा कुल्चने, अल्झने, मेचको मुनि डुब्नेलगायत सम्भावनाबारे पनि विशेष सजग हुनुपर्छ ।

आन्तरिक सफाइ
करीब १ वर्षको समयान्तरालमा ल्यापटपलाई खोलेरै सफाइ गर्नु राम्रो हुन्छ । आफैमा ल्यापटप खोल्ने क्षमता नभएमा यसका लागि तालीमप्राप्त प्राविधिकको सहयोग लिनु आवश्यक हुन्छ । लामो समयसम्म धूलो जम्मा हुँदा उपकरणको चिस्यान प्रणालीलगायतमा खराबी आउन सक्छ । यसले ल्यापटपको मदरबोर्डलाई प्रत्यक्ष असर पार्ने सम्भावना रहन्छ । त्यसैले यसतर्फ पनि ध्यान दिनुपर्छ ।

ल्यापटपमाथि किताब, ब्यागलगायत गह्रौं वजनका सामग्री कहिल्यै राख्नु हुँदैन । भारी सामग्रीले एलसीडी स्क्रिन र किबोर्डबीचमा चाप उत्पन्न गराई उपकरणमै खराबी ल्याउन सक्छ ।

ल्यापटप बोक्न प्रयोग गरिने ब्याग उपयुक्त आकारको हुनुपर्छ । ल्यापटपभन्दा ठूलो वा सानो आकारको भएमा यसले उपकरण कोर्ने, फुट्नेलगायन समस्या ल्याउन सक्छ । तर उपयुक्त साइजको ब्यागले भने ल्यापटप खसिहालेमा पनि ठूलो क्षति हुनबाट जोगाउँछ ।

ब्याट्रीको हेरचाह
ल्यापटप दैनिक प्रयोग गर्दा बढी तात्न सक्छ । तातेको ल्यापटपलाई उचित हेरचाह र संरक्षण गर्न सकिएन भने चाँडै बिग्रिन पनि सक्छ । बढ्दो गर्मीसँगै ल्यापटप बढी तात्ने समस्या आउन सक्छ ।

ल्यापटपको ब्याट्री र पंखामा धूलो पस्ने भएकाले समयसमयमा सरसफाइ गर्नुपर्छ । ब्याट्री र पंखामा धूलो एवम् फोहोर जम्यो भने ल्यापटपमा समस्या आउन सक्छ । ब्याट्री र पंखामा भएको धूलो सरसफाइ गर्न ल्यापटपको खोल्न स्क्रु ड्राइभर र सावधानी आवश्यक पर्छ । त्यसैगरी इलेक्ट्रोनिक्स डिभाइसको सफाइका लागि ‘क्यान्नड एयर’ चाहिन्छ । यसलाई ग्यास डस्टर पनि भनिन्छ ।

चार्ज गरिरहेका बेला ल्यापटपलाई आफूबाट टाढा राख्नुपर्छ । ब्याट्री चार्ज भएपछि चार्जरलाई अलग गर्नुपर्छ । ब्याट्री तात्न थाल्यो भने लगातार ल्यापटपको प्रयोग नगर्नु राम्रो हुन्छ । अर्थात् केही समय बन्द गरेर चलाउनुपर्छ ।

कुलिङ किट प्रयोग गर्दा पनि ब्याट्री तात्ने क्रम रोकिएन र ब्याट्रीको ब्याकअप चाँडै सकिन थाल्यो भने लगातार चार्ज गर्नुको सट्टा ब्याट्री परिवर्तन गर्नुपर्छ ।

ल्यापटप राख्ने तरीका
ल्यापटप प्रयोगका बेला त्यसले बेसबाट हावा लिइरहेको हुन्छ । त्यसैले सिरक, डसना तथा हावा छेक्ने सामानमाथि राखेर ल्यापटप चलाउनु हुँदैन । ल्यापटपले राम्ररी हावा लिन नसक्दा ओभर हिटिङको समस्या आउन सक्छ । ल्यापटप टेबल वा कपडा भएको ठाउँभन्दा अलग्ग राख्यो भने हिटिङ हुने सम्भावना कम हुन्छ ।

किबोर्डको सफाइ
टाँस्न प्रयोग हुने कुनै पनि टेपले कम्प्युटरको किबोर्डमा जमेको फोहोर तथा धूलो सजिलै सफा गर्छ । यो गर्न धेरै समय पनि लाग्दैन । यस्ता टेप विभिन्न साइजमा बजारमा पाइन्छन् ।

स्किनको सफाइ 
पेपर टावेल (रुमाल)को प्रयोगले स्क्रिन कोरिन सक्ने भएकाले सकेसम्म माइक्रो फाइबर रुमालले मात्रै सफा गर्नु उचित हुन्छ । यस्तो रुमाल कपासजस्तै नरम हुनुका साथै नखुम्चिने खालको हुन्छ ।

यूएसबी पोर्टलगायतको सफाइ 
ल्यापटपका बाहिरी भाग समय–समयमा ब्रसको प्रयोग गरेर सफा गर्नुपर्छ । स्पिकर, यूएसबी पोर्ट, डीभीडी प्लेयरलगायत पार्ट्स नरम ब्रश वा कपडाको प्रयोग गरेर सफा गरिराख्नुपर्छ ।

ल्यापटप शट डाउन गरेर मात्र सुत्ने
स्लिप मोडमा रहँदा उपकरण पूर्णतया बन्द हुँदैन र यो आंशिक रूपमा सञ्चालनमै रहन्छ । तर यसो गर्दा उपकरण र प्रणाली दुवैको आयु छोटो हुँदै जान्छ । उपकरण अन नै राखेर सुत्दा बत्ती गएको थाहा हुँदैन । यसले गर्दा उपकरण पटकपटक डाइरेक्ट बन्द हुने सम्भावना प्रबल हुन्छ । यसले कम्प्युटर प्रणाली वा उपकरणलाई नराम्रो असर गर्छ । साथै खराब मौसममा हुने चट्याङले सञ्चालनमा रहेको प्रणालीलाई हानि गर्ने सम्भावना हुन्छ ।

कहिलेकाहीँ अपडेट गर्न कम्प्युटरलाई रातभर अन राख्नु नराम्रो भने होइन । खासगरी रातको बेला प्रणालीमा काम कम गरिने र इन्टरनेटको गति पनि राम्रो हुने भएकाले यसलाई राम्रो मानिन्छ । तर सधैं विनाकाम अन राख्नु ठीक होइन ।

Read More
  • MBL - below news
  • EBL Ad news