काठमाडौं : नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले मुलुकको अर्थतन्त्र मन्दीको अवस्थामा रहेको र त्यसको प्रभाव बैंकहरुमा देखिएको बताएका छन् ।
'पछिल्लो समयमा बैंकहरुको खराब कर्जा (एनपीएल) बढ्दै गएको छ। त्यसमा पनि राष्ट्र बैंकको निर्देशनले थप बढ्ने देखेको छु,’ उनले भने, ‘माघदेखि असारसम्म हामीले जति कर्जाहरु रिकभरी गर्छौ। त्यो कर्जालाई ६ महिनासम्म असल कर्जामा देखाउन पाउँदैनौ।' महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै सीइओ ढुंगानाले यस्तो बताएका हुन् ।
अहिले बजारमा खरिदबिक्री देखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको कारण बैंकको रिकभरीमा नराम्रोसँग हिट गरेको र अर्थतन्त्रमा सुधार नभएमा बैंक तथा वित्तीय संस्थाहरुले थप समस्या झेल्नुपर्ने उनले बताए ।
साधारण खर्चकै लागि ऋण उठाउनु पर्ने स्थितिले अर्थतन्त्र सहज नहुने र अर्थतन्त्रमा सुधार नभएमा बैंक तथा वित्तीय संस्थाहरुले थप समस्या झेल्नुपर्ने उनले बताए। अहिले मुलुकमा पुँजीगत खर्च बढाउने भन्दा पनि बजेट घटाउने परिपाटी सहि नभएको र अर्थतन्त्र सकरात्मक गतिमा नजाने उनको भनाई छ ।
बैंकहरुको रिटर्न अन इक्विटी २५ प्रतिशतबाट घट्दै घट्दै गतसाल ११ प्रतिशतबाट अहिले पौष मसान्तसम्म ५ प्रतिशतको हाराहारीमा आएको अवस्था रहेको उनले बताए । यस्तै अवस्थामा मुलुकको अर्थतन्त्र रहिरहने हो भने आगामी आर्थिक वर्षमा कुनैपनी बैंकले लाभांश दिन नसक्ने उनले बताए ।








