काठमाडौँ — फेसबुक, ट्वीटर, इन्स्टाग्राम, स्न्यापच्याटजस्ता कुनै पनि सामाजिक सञ्जाल प्लाटफर्म नेपालमा दर्ता नभई सञ्चालन भए २५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्थासहित सरकारले सामाजिक सञ्जालसम्बन्धी ऐन मस्यौदा गरेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले वर्जित कार्य गरे ५ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने प्रस्तावसहित ‘सामाजिक सञ्जालको प्रयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तयार भएको हो ।
नेपालमा सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्न चाहनेले सामाजिक सञ्जाल व्यवस्थापन केन्द्रमा अनिवार्य दर्ता गर्नुपर्ने र केन्द्रले तोकेबमोजिम सूचीकरण गर्नुपर्ने विधेयकमा उल्लेख छ । एक लाखभन्दा बढी प्रयोगकर्ता भएका सञ्जाल अनिवार्य रूपमा दर्ता गरेर मात्रै सञ्चालन गर्नुपर्ने र त्यसो नगरे २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने भनिएको छ । नियमपूर्वक हटाउन निर्देशन भएका सामग्री कुनै सामाजिक सञ्जाल प्लाटफर्मले नहटाए सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पटकैपिच्छे १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार पनि प्रस्ताव गरिएको छ ।







