काठमाडौं । अघिल्लो हप्ता एसईईको नतीजा सार्वजनिक भएसँगै विद्यार्थीहरू कलेज छनोटको तयारीमा व्यस्त छन् । उक्त परीक्षामा राम्रो ग्रेड ल्याएका विद्यार्थी कक्षा ११–१२ मा आफूले चाहेको विषय पढ्न पाइने हुँदा निकै उत्साहित छन् । तर राम्रो नतीजा नआउँदा पछुतो मान्नेहरू पनि धेरै छन् ।
परीक्षा बिग्रनुमा धेरैले अनेकथरी बहाना बनाउँछन् । कोही प्रश्न नै गाह्रो आएको भन्छन् त केहीले विद्यालय वा शिक्षकलाई दोष दिएर आफ्नो कमजोरी ढाकछोप गर्छन् । तर धादिङ गल्छीका दीपेश खतिवडाले भने आफ्नो नतीजा खस्किनुमा आफ्नै कमजोरी भएको बताए । ‘लुकी चोरी मोबाइलमा गेम खेल्ने बानीले पढाइ र परीक्षा बिग्रियो,’ उक्त परीक्षामा १ दशमलव ६ जीपीए मात्र ल्याएका उनले भने, ‘बेलैमा सचेत भएर यो बानी छाडेको भए केही राम्रो गर्न सकिन्थ्यो कि ?’
खतिवडाको जस्तै समस्या नुवाकोट विदुरकी शर्मिला नेपालको पनि रहेछ । ‘एक छिन मोबाइल चलाएन भने छटपटी हुन्थ्यो, सोसियल साइट खोलिरहनुपर्थ्यो,’ हाल एक सहकारी संस्थामा कार्यरत उनले भनिन्, । यस्तो बानी आफूलाई पछिसम्म लतकै रूपमा रहेको अनुभव उनले सुनाइन् । धेरै मोबाइल चलाएकै कारण आँखा बिग्रेर पावरवाला चश्मा लगाउनुपरेपछि अहिले आफू यसको प्रयोगमा सचेत भएको उनले बताइन् ।
हुन पनि सूचना र सञ्चारको यो जमानामा स्मार्टफोनविनाको दिनचर्याको कल्पना नै गर्न मुश्किल हुन्छ । प्रविधिले ल्याएको नयाँ नयाँ विकास, उपभोक्ताको बढ्दो रुचि र आकर्षणका कारण पछिल्लो समय स्मार्टफोनको बजार दिनानुदिन बढ्दै गएको छ । शहरदेखि गाउँसम्म सबैका हातहातमा अहिले स्मार्टफोन नै देखिन्छन् ।
चलाउन सहज, विभिन्न एपको सुविधा र आकर्षक डिजाइन स्मार्टफोनका मुख्य विशेषता हुन् । उपभोक्ताको चाहना र आर्थिक क्षमतालाई समेत दृष्टिगत गरी निर्माता कम्पनीले सस्तोदेखि महँगासम्म स्मार्टफोन बजारमा ल्याएका हुन्छन् । स्मार्टफोन सबै वर्गका उपभोक्तासम्म पुग्नुको कारण पनि यही हो । यसको बढ्दो प्रभावकै कारण अहिले फिचर फोनका प्रयोगकर्ता दिनप्रतिदिन घट्दै गएका छन् ।
स्मार्टफोन मानिसको दिनचर्या सहज बनाउन महत्त्वपूर्ण साधन बनेको छ । आफ्नो आवश्यकता र रुचिअनुसारका एप्स चलाउन पाइने हुँदा यसले मानिसका विभिन्न काममा मद्दत पुर्याएको छ । तर यसको अव्यवस्थित र असीमित प्रयोगले मानिसलाई हानि पनि उत्तिकै पुर्याइरहेको छ । प्रयोगमा सचेत र मितव्ययी हुन नहुँदा मानिसलाई स्मार्टफोनको लत नै लाग्ने गरेको पाइएको छ । यस्तो लत विशेषगरी बालबालिका, किशोर किशोरी र युवाहरूमा देखिएको छ । यसले उनीहरूको दैनिक जीवन अस्तव्यस्त बनाउनुका साथै मानसिक समस्या समेत समस्या निम्त्याउने गरेको छ ।
ध्यान केन्द्रित गर्न स्मार्टफोनमा रहेका एप नै मानिसलाई लत लाग्ने अवस्थासम्म पुर्याउने मुख्य कारक हुन् । यस्तोमा स्मार्टफोनको अनावश्यक प्रयोगबाट बच्ने केही उपाय यस्ता छन् :
१. नोटिफिकेशनमा नियन्त्रण
आईफोन र सामसुङका उत्पादनमा कुनै पनि एपको नोटिफिकेशन मोबाइल नचलाउँदा नै बज्ने गर्छ । यसले मानिसको ध्यान स्मार्टफोनमा आकर्षित गर्छ । त्यसैले त्यस्ता एपमा रहेको नोटिफिकेशन्स बन्द गर्ने बानी गर्नुपर्छ । यसले गर्दा स्मार्टफोन हेरिरहनुपर्ने अवस्था रहँदैन ।
२. बेलाबेलामा विश्राम
३. तालिका निर्माण
४. अटो प्ले सिस्टम अफ
५. अलार्मको प्रयोग








