काठमाडौं । नेपालको दूरसञ्चार व्यवसाय कम्पनी एनसेलको शेयर अकुत सम्पत्ति लुकाउने स्वर्ग अर्थात् ‘ट्याक्स हेभन’ मुलुकमा भएको यसका लगानीकर्ताले स्वीकार गरेका छन् ।
आजियाटाको ८० प्रतिशत शेयर किनेको भनिएको स्पेक्ट्रलाइट यूके लिमिटेडका नेपाली मूलका शेयरधनी सतिशलाल आचार्यले नै एक विज्ञप्ति जारी गरी सेन्ट किट्समा रहेको कम्पनी रेनोल्ड होल्डिङ्सको शेयर आफूले खरिद गरेको स्वीकारेका हुन् ।
कर छलीमा निकै अघिदेखि बदनाम एनसेलले पछिल्लो शेयर कारोबार पेचिलो बन्दै गएपछि कम्पनीको छवि उकास्ने प्रयास गर्दै एक विज्ञप्ति जारी गरेको छ । सो विज्ञप्तिमा आजियाटाको ८० प्रतिशत शेयर नेपाली मूलका लगानीकर्ताले लिने सम्झौता भएको, उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको र नेपाल सरकारको डिजिटल नेपाल भिजनका लक्ष्य हासिल गर्न योगदान पुर्याउनेसम्म उल्लेख गरेको छ ।








