काठमाडौं : भारतीय सेयर बजारले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ । बुधबार लगातार तेस्रो दिन भारतीय सेयर बजार इतिहासकै उच्च विन्दुमा पुगेको हो । ‘बीएसई सेन्सेक्स’ र ‘निफ्टी ५०’ दुवै इतिहासकै उच्च विन्दुमा बन्द भएका छन् । बुधबार सेन्सेक्स ३५७ अंकले बढेर इतिहासकै उच्च ६९,६५३ विन्दुमा बन्द भएको छ । यसअघि, सोमबार र मंगलबार पनि सेन्सेक्सले अलटाइम हाई विन्दु कायम गरेको थियो ।
बुधबार इन्ट्राडे कारोबारमा सेन्सेक्स ६९,७२१ को अट टाइम हाई विन्दुसम्म पुगेको थियो । यता, अर्को सूचक निफ्टी पनि मंगलबार बनाएको रेकर्ड तोड्दै धुबारबार नयाँ उचाईमा पुगेको छ । यो सूचक ८२ अंकले बढेर हालसम्मकै उच्च २०,९३७ विन्दु बन्द भएको हो । भारतीय सेयर बजारमा उछाल आउँदा लगानीकर्ताको सम्पतिमा उच्च वृद्धि भएको छ । बुधबार एकै दिन लगानीकर्ताको सम्पतिमा २१ खर्ब भारतीय रुपैयाँले वृद्धि भएको इकोनामिक टाइम्सले उल्लेख गरेको छ ।








