नेपाल बिमा प्राधिकरणले पछिल्लो समय चार वटा जीवन बिमा कम्पनीलाई प्रिमियममा आईपीओ निष्काशन गर्न स्वीकृति दियो । प्रिमियममा आईपीओ निष्काशन गरेका कम्पनीलाई तोकिएको चुक्ता पुँजी पुर्याउन प्रिमियम रकम उपयोग गर्न दिने भएको छ ।
नेपाल बिमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले जीवन बिमा कम्पनीहरुलाई चुक्ता पुँजी पुर्याउने प्रयोजनको लागि प्रिमियम रकम प्रयोग गर्न दिइने बताए । बिमा प्राधिकरणको स्वीकृतिमा धितोपत्र बोर्डले सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ, आईएमई लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सलाई प्रिमियममा शेयर निष्काशन गर्न अनुमति दिएको थियो । यी नयाँ बिमा कम्पनीहरुले प्रिमियमको रकम नगद लाभांश नदिएर बोनस नै दिएर चुक्ता पुँजी बढाउनुपर्ने प्रवक्ता पौडेलले बताए ।
बिमा प्राधिकरणले गत आर्थिक वर्षको असार मसान्तसम्म जीवन बिमा कम्पनीहरुलाई चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने समयसीमा दिए पनि धेरै कम्पनीहरुले पुर्याएका छैनन । नेपाल लाइफ, नेसनल लाइफ र हिमालयन लाइफबाहेक अन्य कम्पनीहरुले चुक्ता पुँजी पुर्याउन सकेका छैनन । बिमा प्राधिकरणका प्रवक्ता पौडेल भने धेरै कम्पनीहरुले पुँजी योजना अनुसार गत वर्षको नाफालाई पुँजीकृत गरेर बाँकी रकम हकप्रद शेयर निष्काशन गर्ने योजना बनाएको बताए । एक्चुरी भ्यालुएसनका कामहरु प्रायः नेपालमा नहुने हुँदा जीवन बिमा कम्पनीहरुले गत वर्षको नाफाबाट कतिसम्म लाभांश दिन सक्ने भन्ने विषय नै निक्याैल नभएका कारण तोकिएको पुँजी पुर्याउन ढिलाई भइरहेको हो ।








