देशभर करिब ३१ हजार सहकारी संस्था रहेका छन् । त्यसमा बचत तथा ऋण सहकारी संस्था र नाम अरू भए पनि बचत तथा ऋणकै कारोबार गर्ने संस्थाको संख्या जोड्दा झन्डै २४ हजार छ । यी सहकारीमा करिब ५ खर्ब ५० अर्ब रुपैयाँ बचत रहेको छ ।
कैयौं सहकारी बचत फिर्ता गर्न नसक्ने अवस्थामा रहेका छन् । त्यसमध्ये केहीमा बचत रकम लगानी भएको ठाउँबाट उठ्न कठिन देखिएको छ । कतिपय संस्थामा भने बचत रकम कहाँ गयो भन्ने यकिनसमेत हुन सकेको छैन ।
एकै किसिमको काम गर्ने एक टोलका मानिसहरूको औपचारिक समूह सहकारी हो । सहकारी तीन किसिमका हुन्छन्— उत्पादक, श्रमिक र उपभोक्ता । उदाहरणका लागि दूध उत्पादन गर्ने किसान मिलेर खोलेको उत्पादक सहकारी हो । सिकर्मी मिलेर खोलेको श्रमिक सहकारी हो । किराना पसलका ग्राहक मिलेर खोलेको उपभोक्ता सहकारी हो ।








