काठमाडौँ — बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरूले उद्योग र व्यापारलाई फरक ब्याजदरको व्यवस्था गर्न राष्ट्र बैंकसँग आग्रह गरेका छन् । मौद्रिक नीतिको त्रैमासिक समीक्षामा सुझाव दिने क्रममा अध्यक्षहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले राष्ट्र बैंकसँग व्यापारिक र उत्पादनमूलक क्षेत्रमा फरक फरक ब्याज हुने गरी दोहोरो ब्याजदर प्रणालीको माग गरेका हुन् ।
‘व्यापारिक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदरमा भन्दा उत्पादनमूलक, रोजगारमूलक एवं निर्यातमूलक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर सस्तो हुने गरी दोहोरो ब्याजदर प्रणाली लागू गरिनुपर्छ,’ परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो व्यवस्थाले उत्पादनशील क्षेत्रमा क्रियाशील उद्योगी व्यवसायीलाई प्रोत्साहन मिल्ने, आर्थिक क्रियाकलापले गति लिने, उत्पादकत्व अभिवृद्धि भई आयात प्रतिस्थापन एवं निर्यात प्रवर्द्धनमा ठूलो टेवा पुग्ने र उद्यमशीलताको विकास तथा रोजगारी अवसर सिर्जनामा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ ।’







