काठमाडौं– मौद्रिक नीति समीक्षाको तयारी गरिरहेको राष्ट्र बैंकलाई अर्थतन्त्रमा आएको सुस्तता चिर्ने दबाब बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास असोज मसान्तमै सकिए पनि केन्द्रीय बैंकले मंसिर दोस्रो सातासम्ममा पनि समीक्षा गर्न सकेन । अब भने तेस्रो साताभित्रै अर्थात् आगामी शुक्रबारसम्ममा मौद्रिक नीतिको समीक्षा गरिने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।
अर्थतन्त्रको सुस्तताका बीच प्रधानमन्त्रीले गभर्नर, निजी क्षेत्र तथा बैंकरहरूसँग छलफल गरेका थिए । छलफलपछि गभर्नरले निजी क्षेत्र तथा बैंकहरूका लागि मौद्रिक नीतिको समीक्षामार्फत लचक बन्ने नीति ल्याउने तयारी गरिरहेका छन् । राष्ट्र बैंकले यसै साताभित्र मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरेको राष्ट्र बैंक स्रोत बताउँछ ।








