काठमाडौं– चालु आर्थिक वर्षको पहिलो तीन महिनामा तीन अर्ब रुपैयाँभन्दा बढी खुद प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ । राष्ट्र बैंकका अनुसार यो अवधिमा ३ अर्ब ३७ करोड लगानी भित्रिएको हो । अघिल्लो वर्षको तुलनामा यो उच्चदरको वृद्धि हो । गत वर्ष असोजसम्ममा ७ करोड ९६ लाख रुपैयाँमात्र खुद प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।
उद्योग विभागको तथ्यांकअनुसार चालु आवको असोजसम्म १६ अर्ब ६० करोड रुपैयाँबराबरका विदेशी लगानीका परियोजना दर्ता भएका छन् । साउनमा उल्लेख्य लगानी प्रतिवद्धता रहे पनि भदौ र असोजमा अघिल्लो आवको तुलनामा कम छ । अघिल्लो वर्ष असोजमा २ अर्ब ९२ करोड लगानी प्रतिवद्धता रहेकोमा चालु वर्षमा भने १ अर्ब ९८ करोड प्रस्ताव आएको छ । चालु आवमा नयाँ लगानीका निमित्त विदेशी लगानीकर्ता उदासीन रहे पनि अघिल्ला वर्षहरुमा गरिएको प्रतिवद्धता अनुसार मुलुकमा विदेशी लगानी भित्रिन लागेको पाइएको छ ।









